
विमल गैरे, सैनामैना । सैनामैना नगरपालिकाको आयोजना तथा सैनामैना सञ्चार प्रा.लि. को व्यवस्थापनमा सञ्चालन गरिएको ७ दिने आधारभूत फोटो तथा भिडियोग्राफी तालिम आज एक औपचारिक समारोहका बीच सम्पन्न भएको छ।
सैनामैना नगरपालिकाकी उपप्रमुख विना रानाको अध्यक्षता तथा नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा “महिलासँग उपप्रमुख” कार्यक्रम अन्तर्गत नगरपालिका भित्रका ११ वटै वडाका करिब ३० जना महिलाको सहभागिता रहेको थियो।
समापन कार्यक्रममा बोल्दै उपप्रमुख रानाले हाल सञ्चालन गरिएको आधारभूत तालिमलाई आगामी दिनमा अझ उन्नत (एड्भान्स) तहमा विस्तार गर्ने योजना रहेको बताइन्। उनले सहभागी महिलाहरूलाई तालिमपछि पनि सिकेको सीपलाई निरन्तर प्रयोगमा ल्याउन आग्रह गरिन्।
प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्दै यस प्रकारको तालिमले महिलाहरूको जीविकोपार्जनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले नगरपालिकाले यसअघि यस्ता प्रकृतिका तालिमहरू सञ्चालन नगरेको उल्लेख गर्दै यसलाई सकारात्मक सुरुआतका रूपमा लिएका छन्।
कार्यक्रममा वडा नं. ४ का अध्यक्ष रामप्रसाद अधिकारी र वडा नं. ५ का अध्यक्ष धनप्रसाद पौडेलले अन्य तालिमहरूको तुलनामा यो तालिम उपलब्धिमूलक रहेको धारणा राखे। उनीहरूले सहभागीहरूबाट एड्भान्स तालिमको माग आएमा नगरपालिकाले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रम संयोजक एवं सैनामैना संचार प्रा.लिका संचालक टिका खरेलले फोटो तथा भिडियोग्राफी क्षेत्रमा दक्ष जनशक्तिको अभाव हुँदै गएकोले दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले नगरपालिकाको सहयोगमा यो तालिम संचालन गरिएको बताउनु भयो ।
सहभागीहरूको तर्फबाट अमिशा सुनार र पूजा सुनारले तालिमबाट आफूहरूले व्यावहारिक ज्ञान प्राप्त गरेको बताउँदै प्रविधिको युगमा यस्ता सीप अत्यन्त आवश्यक रहेको धारणा राखे।
एक हप्तासम्म सञ्चालन भएको उक्त तालिममा लुम्बिनी फोटोग्राफर संघका सचिव प्रेम अर्याल र सुरज भुसालले सहजीकरण गरेका थिए। समापन समारोहमा स्वागत मन्तव्य विनिता अर्यालले राखेकी थिइन् भने कार्यक्रम सञ्चालन रेजिना कार्कीले गरेकी थिइन्।
यस तालिमले सैनामैनाका महिलाहरूलाई प्रविधिमैत्री सीप प्रदान गर्दै आत्मनिर्भर बन्ने बाटो खोल्ने अपेक्षा गरिएको छ।












