नेत्र थापा अनौठो शैलीमा मतदातामाझ, बजारमा पानी खुवाउँदै, एजेण्डा सुनाउदै

सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत हुन नसकेपछि यही चैत २१ गते निर्वाचन हुने भएको छ। नेतृत्वमा को आउने भन्ने कौतुहलतासँगै मुर्गिया हाटबजार क्षेत्रमा चुनावी चहलपहल तीव्र बनेको छ।

यसैबीच, आज हाटबजारमा फरक दृश्य देखिएको छ। बजार गेटमै बसेर स्वतन्त्र अध्यक्ष पदका उम्मेदवार नेत्र थापाले आउने–जाने सर्वसाधारणलाई चिसो पानी खुवाउँदै आफ्ना लिखित एजेन्डा वितरण गर्नुका साथै प्रत्यक्ष रूपमा आफ्ना योजना सुनाउँदै मत माग्नुभएको थियो।

खानेपानीका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताउँदै थापाले चुनाव जितेपछि प्रत्येक उपभोक्ताको घरघरमा पुगेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले दलीय सहमतिभन्दा बाहिर आएर आम उपभोक्ताबाट नेतृत्व चयन हुनुपर्ने आफ्नो मुख्य एजेन्डा सफल भएको दाबी गर्नुभएको छ।

उम्मेदवार थापाले दलीय प्रतिनिधिभन्दा योग्य र काम गर्न सक्ने व्यक्तिलाई चयन गर्न सम्पूर्ण उपभोक्तासमक्ष आग्रह समेत गर्नुभएको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation