मुर्गिया खानेपानी संस्थाको निर्वाचन तयारी पूरा, कडा सुरक्षा व्यवस्थासहित भोलि मतदान

विमल गैरे, सैनामैना । सैनामैना–४ मुर्गियामा रहेको मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको भोलि हुने निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। शुक्रबार बसेको सर्वपक्षीय बैठकपछि निर्वाचन समिति संयोजक खुशीराम चौधरीले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।

निर्वाचन अन्तर्गत शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म पर्रोहा बहुमुखी क्याम्पसमा मतदान हुने छ। मतदान केन्द्रमा आवश्यक भौतिक पूर्वाधार, कर्मचारी व्यवस्थापन तथा मतदाता सहजीकरणका सम्पूर्ण तयारी सम्पन्न भइसकेको जनाइएको छ।

संस्थामा करिब ४,६८६ जना उपभोक्ता रहेका छन् भने १६ पदका लागि ४६ जनाको उम्मेदवारी परेको छ, जसका कारण चुनावी प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ।

सर्वपक्षीय बैठकमा विशेषगरी सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राखिएको थियो। मतदान स्थलमा नेपाल प्रहरी तथा आवश्यक परे थप सुरक्षा निकायको परिचालन गरिने, शान्तिपूर्ण र निष्पक्ष मतदान सुनिश्चित गर्न कडाइका साथ निगरानी गरिने निर्णय गरिएको छ। साथै मतदाताको व्यवस्थापन, लाइन प्रणाली र विवाद समाधानका विषयमा पनि विस्तृत छलफल भएको थियो।

मतदान प्रक्रियाअनुसार, धारा जडान भएको व्यक्तिले मतदान गर्न पाउनेछन्। यदि श्रीमानको नाममा धारा भए श्रीमतीले र श्रीमतीको नाममा भए श्रीमानले मतदान गर्न पाउने व्यवस्था गरिएको छ। दुवै जीवित नभएको अवस्थामा भने छोराले मृत्यु दर्ताको आधारमा मतदान गर्न सक्नेछन्। संघ–संस्थाका हकमा भने आधिकारिक अख्तियारी पत्रसहित प्रतिनिधि पठाउनुपर्ने व्यवस्था गरिएको छ।

निर्वाचन समितिले मतदान गर्न आउँदा उपभोक्ता नम्वर, खानेपानी विल र अनिवार्य रूपमा परिचय खुल्ने सरकारी प्रमाणपत्र साथमा ल्याउन आग्रह गरेको छ।

मतदान सम्पन्न भएसँगै सोही रातिबाट मतगणना सुरु गरिनेछ। मतगणना मुर्गिया खानेपानी संस्थाको सभा हलमा गरिने जनाइएको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation