एक भोट बराबर ५० रुपैयाँ, नेत्र थापाको पूर्वघोषणा अनुसार ५०० मतबाट २५ हजार सामाजिक सेवामा

विमल गैरे, सैनामैना ।

सैनामैना–४ मुर्गियास्थित मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन केवल पदको प्रतिस्पर्धा मात्र रहेन, यसले सामाजिक उत्तरदायित्वको उदाहरण पनि प्रस्तुत गरेको छ। दलीय प्यानलको दबाबबीच स्वतन्त्र उम्मेदवारी दिएका नेत्र थापाले आफ्नो पूर्वघोषणा अनुसार प्राप्त मतलाई सामाजिक सेवासँग जोड्दै फरक सन्देश दिएका छन्।

निर्वाचनअघि उनले “एक भोट बराबर ५० रुपैयाँ सामाजिक काममा लगाउने” प्रतिबद्धता जनाएका थिए। सोही प्रतिबद्धता अनुसार उनले प्राप्त गरेको ५०० मतबाट २५ हजार रुपैयाँ सामाजिक सेवामा खर्च गर्ने घोषणा गरेका छन्।

निर्वाचन प्रक्रियाका क्रममा मतदाताको मनसाय परिवर्तन गर्ने प्रयास, घरदैलोमा बारम्बार पुगेर प्रभाव पार्ने गतिविधि, मतदातामाथि दबाब सिर्जना गर्ने काम, तथा हजारौंको संख्यामा प्यानलकै स्वीकृतिसहितका नमुना मतपत्र वितरण गरी मत प्रभावित पार्ने जस्ता घटनाहरू देखिएको उनले उल्लेख गरेका छन्। यस्ता गतिविधिले निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको उनको भनाइ छ।

तर पनि, यी सबै अवस्थाबीच उनले पाएको समर्थनलाई ठूलो विश्वासका रूपमा लिँदै सम्पूर्ण मतदाता, शुभेच्छुक तथा समर्थकप्रति आभार व्यक्त गरेका छन्। “तपाईंहरूको साथले मलाई अझ जिम्मेवार बनाएको छ,” उनले भनेका छन्।

निर्वाचन केवल परिणामको खेल होइन, प्रक्रियाको पनि परीक्षा हो। प्रक्रिया नै प्रभावित भयो भने जितको अर्थ रहँदैन। अब आवश्यक छ—स्वच्छ, स्वतन्त्र र निष्पक्ष अभ्यासको सुनिश्चितता, नत्र इमानदार प्रतिबद्धता सधैंका लागि ओझेलमा पर्नेछ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation