
विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन केवल मतको प्रतिस्पर्धा मात्र बनेन, यसले मानवीयता र संवेदनाको एउटा गहिरो उदाहरण पनि प्रस्तुत गर्यो। अध्यक्ष पदका उम्मेदवार नेत्र थापाले आफूले प्राप्त गरेको प्रत्येक मतप्रति उच्च सम्मान प्रकट गर्दै आफ्नो पूर्वप्रतिबद्धता अनुसार सामाजिक सेवामा समर्पित हुने कार्यलाई व्यवहारमै उतारेका छन्।
थापाले सैनामैना–३ निवासी ३० वर्षीय मनोज पुनलाई नगद रु १५,००० आर्थिक सहयोग प्रदान गरेका छन्। उनले प्राप्त गरेको ५०० मतमध्ये ३०० मत बराबरको रकम मनोजलाई हस्तान्तरण गरेका हुन् भने बाँकी रकम अन्य सामाजिक कार्यमा खर्च गर्ने बताएका छन्।
“निर्वाचित नभए पनि मेरो सामाजिक काम कहिल्यै रोकिने छैन, म सधैं दुःखी र गरिबको सहारा बन्नेछु,” थापाले भावुक हुँदै भने।
मनोज पुनको कथा भने साँच्चिकै मन छुने छ। रुपन्देहीको सैनामैना नगरपालिका–३ गंगानगर निवासी शेरबहादुर पुनका जेठा छोरा मनोज विगत पाँच वर्षदेखि हिँडडुल गर्न असमर्थ छन्। उनका बुबा शेरबहादुर समेत प्यारालाइसिसबाट पीडित छन्। आफैं उठ्न नसक्ने अवस्था, घरमा बिरामी बुबा, अनि सानो परिवार-मनोजको जीवन संघर्षले भरिएको छ।
झन् पीडा त त्यतिबेला थपिन्छ, जब उनकी ७ वर्षीया छोरी अनुस्का पुन पनि अपांगताको शिकार भएकी छन्। उनी पनि सामान्य बालबालिकाजस्तै हिँडडुल गर्न सक्दिनन्। विगत एक वर्षदेखि काठमाडौँस्थित करुणा फाउन्डेसनले उनको हेरचाह गरिरहेको छ, तर परिवारको पीडा र जिम्मेवारी भने उस्तै छ।
मनोजकी श्रीमती दिनरात श्रीमान्को स्याहार–सुसारमै व्यस्त रहनुपर्छ। कमाउने कोही छैन, घरमा आम्दानीको कुनै स्रोत छैन। दैनिक गुजारा चलाउन समेत कठिन भइरहेको अवस्थामा नेत्र थापाको सहयोग उनीहरूका लागि ठूलो सहारा बनेको छ। “यो सहयोगले हामीलाई केही समय भए पनि सास फेर्न सजिलो भएको छ,” आँसु झार्दै मनोजकी श्रीमतीले भनिन्।
यस पीडादायी अवस्थालाई नजिकबाट बुझ्दै थापाले भने, “मानवता भन्दा ठूलो केही हुँदैन। उहाँहरूको दैनिकी सहज बनोस् भनेर सानो प्रयास गरेको हुँ, तर यो जिम्मेवारी सबैको हो।”
यो केवल एउटा सहयोग होइन, यो एउटा सन्देश हो-समाजमा अझै पनि मनकारी मानिसहरू छन्, जो अरूको पीडामा आफ्नो मन राख्छन्।यदि तपाईंको मन पनि यो समाचार पढेर हेरेर पग्लिएको छ भने, मनोज पुनको परिवारका लागि तपाईंको सानो सहयोगले पनि ठूलो राहत दिन सक्छ।












