
सैनामैना । सैनामैना जेसीजको आयोजनामा नयाँ वर्ष २०८३ सालको अवसरमा भित्तेपात्रो (क्यालेन्डर) विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
नेपाली नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै जेसीजले प्रकाशन गरेको भित्तेपात्रो एक औपचारिक कार्यक्रमकाबीच विमोचन गरिएको हो। कार्यक्रमका बारेमा जानकारी दिँदै कार्यकारिणी उपाध्यक्ष सन्दिप सेञ्चूरीले सामाजिक तथा सूचनामूलक सन्देशसहित भित्तेपात्रो तयार गरिएको बताए।
कार्यक्रमका प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष रामप्रसाद अधिकारीले आफ्नो शुभकामना मन्तव्य दिदै युवाहरूको नेतृत्व विकासमा जेसीजको भूमिका उल्लेखनीय रहेको बताए। उनले भित्तेपात्रो केवल मिति हेर्ने माध्यम मात्र नभई समाजलाई सकारात्मक सन्देश दिने प्रभावकारी साधन भएको उल्लेख गर्दै यस्ता सिर्जनात्मक कार्यलाई निरन्तरता दिन आग्रह गरे। साथै उनले नयाँ वर्ष २०८३ ले सबैमा उत्साह, ऊर्जा र समृद्धि ल्याओस् भन्ने शुभकामना व्यक्त गरे।
कार्यक्रममा पूर्वअध्यक्षहरू सुवास पौडेल, रामचन्द्र ढकाल, यदुनन्द भण्डारी, गोविन्द खरेल लगायतले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै जेसीजले समाजमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका थिए।
सैनामैना जेसीजका अध्यक्ष गोपाल भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य कार्यकारिणी उपाध्यक्ष प्रदिप ढकालले राखेका थिए भने आस्थापाठ भिपि हर्षित गौतमले प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन महासचिव कमल ढकालले गरेका थिए।
सैनामैनाको बाबरी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा जेसीज सदस्य, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।












