सहयोगी हाटबजार आमा समूहको पुनर्गठन, देवी सापकोटा अध्यक्षमा चयन

सैनामैना । सैनामैना नगरपालिका–३, हाटबजार मुर्गियास्थित सहयोगी हाटबजार आमा समूहको साधारण सभा तथा पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम आमा समूहकी सचिव राधिका रिजालको सञ्चालन तथा अध्यक्ष राधा ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तम बहादुर पुर्जाको प्रमुख आतिथ्यता कार्यपालिका सदस्य मीरा क्षेत्रीको विशिष्ट आतिथ्यता रहेको थियो । साथै वडा स्तरीय आमा समूहकी अध्यक्ष रीना कार्की र टोल विकास संस्थाकी अध्यक्ष दुर्गा थापालगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपाध्यक्ष देवी सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कोषाध्यक्ष जुना आर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

साधारण सभाले सर्वसम्मत रूपमा नयाँ समिति चयन गरेको छ। जसअनुसार अध्यक्षमा देवी सापकोटा, उपाध्यक्षमा गीता ढकाल पौडेल, सचिवमा रचना देवकोटा र कोषाध्यक्षमा गीता भण्डारी चयन हुनुभएको छ। त्यस्तै सदस्यहरूमा शारदा ढकाल, भगवती बनियाँ, सम्झना ज्ञवाली, चन्द्रा ढकाल, अमृता पौडेल, गीता पौडेल र अनिसरा गाहा रहनुभएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष तम बहादुर पुजाले आमा समूहहरू स्थानीय विकासका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै महिला सशक्तीकरण र सामाजिक रूपान्तरणमा यस्ता समूहको भूमिका अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। उहाँले आगामी दिनमा वडा कार्यालयबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी कार्यपालिका सदस्य मीरा क्षेत्रीले आमा समूहलाई आयआर्जनमुखी तथा आत्मनिर्भर कार्यक्रमतर्फ उन्मुख हुन आग्रह गर्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउन महिलाको सक्रियता महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।

नयाँ नेतृत्व चयनसँगै आमा समूहलाई थप सक्रिय, व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation