
विमल गैरे, सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ४ ले ८० वर्ष उमेर पुग्नुभएका बुवा–आमालाई घरदैलोमै पुगेर सम्मान गर्ने अभियान सञ्चालन गरेको छ।
वडा अध्यक्ष राम प्रसाद अधिकारी को नेतृत्वमा जनप्रतिनिधि, वडा सचिव, कर्मचारी तथा टोल विकास संस्थाका अध्यक्ष एवं पदाधिकारीहरू ज्येष्ठ नागरिकको घरघरमै पुगेर सम्मान गर्दै आशिर्वाद लिने कार्य गरिएको हो।
वडाले ज्येष्ठ नागरिकप्रति सम्मान र कृतज्ञता व्यक्त गर्दै उनीहरूको योगदानको उच्च कदर गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाएको छ। सम्मान कार्यक्रममा दोसल्ला, जेष्ठ नागरीक मैत्री सामाग्री प्रदान गरिएको थियो।
कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरूले आफूहरूलाई घरमै आएर गरिएको सम्मानले निकै खुशी लागेको प्रतिक्रिया दिएका छन्। वडाले आगामी दिनमा पनि ज्येष्ठ नागरिकमैत्री कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
वडा अध्यक्ष अधिकारीले समाज निर्माणमा ज्येष्ठ नागरिकको अनुभव र योगदान अमूल्य रहेको भन्दै सम्मान संस्कृतिलाई अझ बलियो बनाउने बताए।












