सैनामैना ३ मा महिलाका लागि सिलाइ–कटाइ आधारभूत तालिम सुरु

सैनामैना । सैनामैना नगरपालिका वडा नं. ३ को आयोजनामा महिलाहरूका लागि सिलाइ–कटाइ आधारभूत तालिम आजदेखि सुरु भएको छ। करिब एक महिनासम्म सञ्चालन हुने उक्त तालिममा वडाका ११ वटा टोल विकास संस्थाबाट छनोट भएका करिब २२ जना महिलाको सहभागिता रहेको छ।

तालिममा बच्चाहरूले जाडोमा लगाउने कपडाका चार प्रकारका सामग्री तथा महिलाहरूले प्रयोग गर्ने कुर्ता–सुरुवाल लगायतका सामग्री सिलाउन सिकाइने प्रशिक्षक भुमा थापाले जानकारी दिनुभयो। सामान्यतया सिक्न करिब दुई महिना लाग्ने यस्तो सीपलाई छोटो अवधिमै प्रभावकारी रूपमा सिकाउने प्रयास गरिएको उहाँको भनाइ छ।

कार्यक्रममा वडा अध्यक्ष तम बहादुर पुर्जाले सहभागी महिलाहरूलाई तालिमलाई निरन्तरता दिँदै ध्यानपूर्वक सिक्न आग्रह गर्नुभयो। उहाँले वडामा यस्ता तालिम सिक्न चाहने धेरै भए पनि सीमित स्रोत र साधनका बाबजुद छनोट प्रक्रियामार्फत सहभागी गराइएको बताउनुभयो।
तालिम शुभारम्भ कार्यक्रममा कार्यपालिका सदस्य मिरा क्षेत्री, वडा सदस्य रोहिणी प्रसाद चौधरी, वडा सचिव मिनाराम पन्थी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन वडा सदस्य कर्ण बहादुर कार्कीले गर्नुभएको थियो।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation