सैनामैनामा जिल्ला स्तरीय ‘अक्सफोर्ड नेपाल फुटसल कप’ आयोजना हुँदै

सैनामैना, रुपन्देही। सैनामैनामा आगामी असार २० र २१ गते जिल्ला स्तरीय ‘अन्तरमाध्यमिक अक्सफोर्ड नेपाल फुटसल कप–२०८३’ आयोजना हुने भएको छ। अक्सफोर्ड नेपाल एजुकेशन कन्सलटेन्सी को आयोजनामा हुने प्रतियोगिताको तयारी तीव्र रूपमा अघि बढाइएको आयोजकले जनाएको छ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा कन्सलटेन्सीका प्रबन्ध निर्देशक अनिल कुमार तामाङ ले शिक्षा मात्र नभई विद्यार्थीहरूको सर्वाङ्गीण विकास आवश्यक रहेको भन्दै खेलकुदमार्फत नेतृत्व क्षमता, अनुशासन, टिमवर्क, आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो।

उहाँका अनुसार प्रतियोगितामा भर्खरै कक्षा १२ उत्तीर्ण गरेका तथा २० वर्षमुनिका (अण्डर–२०) विद्यार्थी खेलाडीहरू मात्र सहभागी हुन पाउनेछन्। सहभागी हुन प्रत्येक खेलाडीले एसईई तथा कक्षा १२ उत्तीर्ण गरेको प्रमाणपत्र वा सम्बन्धित प्रमाणित कागजात अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

निर्देशक तामाङले काठमाडौँ उपत्यकाको पश्चिम क्षेत्रमै सम्भवतः पहिलो पटक यस किसिमको प्रतियोगिता आयोजना हुन लागेको दाबी गर्दै उच्च शिक्षा अध्ययनसँगै खेलकुद क्षेत्रमा व्यावसायिक भविष्य बनाउन चाहने युवाहरूलाई यस प्रतियोगिताले सकारात्मक मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो।

हालसम्म सैनामैना, बुटवल र कञ्चन क्षेत्रका १६ वटा विद्यालय ले आफ्नो टिम दर्ता गरिसकेका छन्। नकआउट प्रणाली मा सञ्चालन हुने प्रतियोगितामा प्रत्येक टोलीबाट ८ जना खेलाडी सहभागी हुन सक्नेछन्। प्रतियोगितामा सहभागी हुन प्रति टोली १ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ।

प्रतियोगिताको विजेताले १५ हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १० हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपर लाई जनही नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताका सबै खेलहरू सैनामैना नगरपालिका–३ स्थित कृपा फुटसल मा सञ्चालन हुनेछन्।

आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। विद्यार्थीहरूमा खेलकुद संस्कृतिको विकास, प्रतिभा पहिचान तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने विश्वास आयोजकले लिएको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation