शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिन थालेपछि किसान चिन्तित

स्याङ्जा ।  शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिन थालेपछि किसान चिन्तित भएका छन्। स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीतभण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो।

किसानले बढी आम्दानी गर्ने उद्देश्यका साथ सुन्तला शीतभण्डारमा राखेका थिए। तर कुहिएपछि उनीहरू चिन्तित बनेका हुन्। पुतलीबजारका रामबन्धु अर्यालले शीतभण्डारमा ५० क्यारेट सुन्तला भण्डारण गरेका थिए।

केही दिन अघि हेर्दा छ/सात क्यारेट जति सुन्तला कुहिएको उनले बताए। अब उहाँ चाँडै सुन्तला बिक्री गर्ने तयारीमा छन्। अहिले बोटबाटै प्रतिकिलो ८५ देखि ९० रुपैयाँ सम्ममा बिक्री भइरहेको छ। गत वर्ष सुन्तला तथा आलुको भण्डारण राम्रो भए पनि यसपटक के कारणले सुन्तलामा खराबी आयो भन्नेबारे अध्ययन भइरहेको शीतभण्डारका अध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिए।

भण्डारण गरिएकामध्ये १० देखि १५ प्रतिशतसम्म सुन्तलामा खराबी देखिन सक्ने भएकाले सचेत भए पनि अनुमानभन्दा औसतमा बढी सुन्तला खराब भएको पाइएको उनको भनाइ छ।

भण्डारण गरिएको सुन्तलामा खराबी देखिएपछि सुन्तला सुपरजोन, कृषि ज्ञानकेन्द्र स्याङ्जा, रामपुर कृषि क्याम्पसलगायतका कार्यालयबाट प्राविधिक आएर निरीक्षण तथा अध्ययन गरिरहेको अध्यक्ष श्रेष्ठले बताए।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation