नेकपा (एमाले) केन्द्रीय लेखा आयोगको ५ औं पूर्ण बैठक लुम्बिनीमा सम्पन्न

कपिलवस्तु । नेकपा (एमाले) केन्द्रीय लेखा आयोगको ५ औं पूर्ण बैठक महत्वपुर्ण निर्णयका साथ सम्पन्न भएको छ । माघ १६, १७ र १८ गते केन्द्रीय लेखा आयोगको ५औं पूर्ण बैठक बुद्ध जन्मस्थल लुम्बिनीमा आयोगका अध्यक्ष डा. पुष्प कंडेलको अध्यक्षता र पार्टी उपमहासचिव प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

बैठकमा पार्टी केन्द्रीय कमिटीका सचिव गोकर्ण विष्ठ, केन्द्रीय सदस्य भूमिश्वर ढकाल, प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल र रुपन्देही जिल्ला कमिटीका अध्यक्ष तेजेन्द्र केसीले लेखा पार्टी, निर्माणमा लेखा व्यवस्थापनको महत्व र आवश्यकता एवं आर्थिक कारोवारको अवस्थाबारे जानकारी सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । बैठकको प्रारम्भमा गत मंसीर १८ गते दिवंगत हुनुभएका आयोगका सदस्य खम्ब खत्री प्रति १ मिनेट मौनधारण सहित श्रद्धान्जली अर्पण गरिएको थियो । बैठकमा आयोगका तर्फबाट चौथो पूर्ण बैठक पश्चात भएगरेका कामहरुको रिपोर्टिङ्गका साथै गत मंसीर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आयोगका पदाधिकारी र सदस्यहरुले निर्वाह गरेको भूमिका सहित निर्वाचनको समग्र समीक्षा समेत गरिएको छ ।

वैठकले पार्टीलाई आर्थिक सुशासनको दृष्टिकोणले व्यवस्थित गर्ने लगाएतका विषयमा महत्वपूर्ण निर्णय गरेको छ । बैठकले आम निर्वाचनको समीक्षा प्रतिवेदन तयार गर्ने, पार्टी केन्द्रीय कोषको चालु आर्थिक वर्षको आन्तरिक लेखापरीक्षण गर्ने, पार्टीको लेखा व्यवस्थापनको लागि प्रशिक्षण पुस्तिका प्रकाशन गर्ने, पार्टी कमिटी, जनसंगठन र लेखा कमिटीका लागि लेखा व्यवस्थापन प्रशिक्षण सञ्चालन गर्ने, आर्थिक व्यवस्थापनका आधारमा पार्टी कमिटी र जनसँगठनको मुल्यांकन गर्ने परिपाटी स्थापना गर्ने, सम्पूर्ण पार्टी कमिटी र जनसंगठनको लेखापरीक्षणरअनुगमन गर्ने, पार्टी विधान र नियमावलीको व्यवस्था विपरित आयोगबाट लेखापरीक्षण नगराई अधिवेशन परिषद् आयोजना गर्ने स्पष्टीकरण सोध्ने र यसरी आयोजना हुने अधिवेशन परिषद्लाई मान्यता नदिन पार्टीलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

त्यस्तै कम्तीमा प्रदेश तहको आर्थिक हिसाबलाई जोड्नेगरी अत्याधुनिक सफ्टवेयर जडान गरी लेखा व्यवस्थित गर्न पार्टी केन्द्रलाई अनुरोध गर्ने, बैठकले गत निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका आयोगका उपाध्यक्ष विष्णु पन्थी र सदस्यहरु मालती लिम्बु, पद्मा जिसी (श्रेष्ठ) र रामेश्वर श्रेष्ठ लाई हार्दिक बधाई दिदै रामेश्वर श्रेष्ठ वागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा नियुक्त हुनुभएको बधाई सहित कार्य सफलताको शुभकामना दिने निर्णय गरेको अध्यक्ष डा. पुष्प कंडेलले जगदिशपुरमा गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । साथै आयोगका पदाधिकरी सदस्यहरूले लुम्बिनी सहित कपिलवस्तुका ऐतिहासीक वुद्ध सम्पदाहरु कुदान, तिलौराकोट, सगरहवा, जगदीशपुर लगायतको स्थलगत भ्रमण गर्नुभएको थियो भने जगदिशपुरमा रहेको थारु होमस्टे परिवारले न्यानो स्वागत गरेको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation