
काठमाडौं । श्री जनता राष्ट्रीय मा. वि. कैलालीगाउँको ६१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस २०७९ फाल्गुन ४ गते सम्पन्न भएको छ । विव्यस अध्यक्ष विनोद पन्तको सभापतित्व र कैलाली क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य माननीय डिल्ली राज पन्तको प्रमुख अतिथ्यमा कार्यक्रम सञ्यालन गरिएको थियो।
त्यस्तै विशिष्ट अतिथिमा धनगढी उपमहानगरपालिकाका निवर्तमान मेयर नृप बहादुर वड र वडा नं. १३ का वडा अध्यक्ष विजय राज जोशी हुनु हुन्थ्यो ।त्यस्तै अतिथिका रूपमा समाजसेवी हरिश खड्कालगायत थुप्रै शिक्षाप्रेमी, समाजसेवी व्यक्तित्वहरूको उपस्थिति थियो । यस कार्यक्रममा सम्पूर्ण शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरूमा विद्यार्थीहरूलाई वितरण गरिएका पुरस्कारहरूका लागि आर्थिक सहयोग अमेरिकी सेनामा कार्यरत श्री भरतसिंह पेलाले गरेका थिए ।
यसअघि उनले यसै बर्ष जेठ ३१ गते पनि यस विद्यालयका ४० जना गरिब जेहेन्दार विद्यार्थीहरूलाई स्टेशनरी र विद्यालय पोषाक विद्यालयमा आफै उपस्थित भएर वितरण गरेका थिए । यस वार्षिकोत्सवको अवसरमा पेलाले रू ५१,१०५/ अक्षरेपी एकाउन्न हजार एक सय पाँच को अक्षयकोष स्थापना गरेका छन् भन्ने कुरा विद्यालयका सहायक प्रधानाध्यापक गणेशप्रसाद जोशीले मञ्चबाट जानकारी गराउनु भयो । यस अक्षय कोषको ब्याजबाट विद्यालयका जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन स्वरूप हरेक वर्ष केही रकम छात्रवृत्तिका रूपमा वितरण गरिने छ । यस विद्यालयका प्रधानाध्यापक श्री कृष्णसिंह पेलाका सहोदर भाइ समाजसेवी भरतसिंह पेलाले यस्तै गरी अनेक ठाउँमा आर्थिक सहयोग गर्दै आएका छन् र उनी भन्छन् आफू विदेशमा रहे पनि आफ्नो जन्मभूमिका लागि, आफ्नो मातृभूमिका लागि आफूले सकेको सहयोग गर्नुपर्छ, म गरिरहने छु ।
यसका साथै विद्यालयका पूर्व विद्यार्थी टेक बहादुर साउदले पनि रू ११,१११/ को अक्षय कोष स्थापना गरी सहयोग गरेका छन् । प्रतिनिधि सभा सदस्य माननीय डिल्लीराज पन्तले शिक्षा महत्वपूर्ण कुरा हो तर अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीहरूलाई अगाडि बढाउन सक्यो भने यसले विद्यालयको चौतर्फी विकासमा थप टेवा पुग्न सक्छ भन्नुभयो । विद्यालयको भौतिक एवम् शैक्षिक विकासका लागि प्राथमिकताका आधारमा स्पष्ट योजना बनाउने र ती मध्ये मैले के गर्नु पर्छ, म सहयोग गर्न तयार छु , मलाई विद्यालयले अवसर दिनुपर्छ।
यसको विकास र समृद्धिमा मेरो पनि सहभागिता अवश्य होस् भन्दै वहाँले विद्यालयको विकास र समृद्धिका लागि सदीक्षा प्रकट गर्नु भयो। विशिष्ट अतिथि निवर्तमान मेयर नृप बहादुर वडले आफू पदमा रहँदा यस विद्यालयलाई पहिलो प्राथमिकतामा राखेको र यस विद्यालयको विकास र समस्याहरूको समाधान गर्नमा आफ्नो साथ र सहयोग सधैं रहनेछ भन्ने आश्वासन दिनु भयो ।
त्यस्तै अन्य वक्ताहरूले पनि विद्यालयको विकासप्रति चिन्ता र चासो प्रकट गर्नुका साथै भरतसिंह पेलाले गर्दै आएको सहयोग एवम् यस अक्षय कोषको स्थापनाले यस समुदायका समाजसेवी, अभिभावक तथा सहयोग दाताहरूलाई विद्यालयको विकासतर्फ थप प्रेरित गर्नेछ र विद्यार्थीहरूलाई पनि यस विद्यालयमा पढ्नका लागि प्रोत्साहित गर्नेछ भन्ने विचार व्यक्त गर्नु भयो ।