
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व-प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताएका छन्।
राष्ट्रपति भण्डारीको सफल, सही, उत्कृष्ट र मर्यादित भूमिकालाई हेरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएको उल्लेख गर्दै अध्यक्ष ओलीले उनको यस खालको भूमिका नेपाल राष्ट्र र नेपाली महिलाहरुको लागि गर्वको विषय भएको बताए।
११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बुधबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले भोजपुरको गाउँमा जन्मिएर नेपालको प्रथम महिला राष्ट्रपति हुनु सामान्य विषय नभएको बताए।
अध्यक्ष ओलीले भने, ‘आज महिला दिदीबहिनीहरुले गौरव गर्नुपर्दछ कि विद्या भण्डारी जस्तो महिला नेतृ, तपाईहरुको आन्दोलनबाट हुर्किएर गएको महिला नेतृले, त्यस आन्दोलनको उपजले त्यहाँ पुगेको व्यक्तिले देशलाई ७ वर्षसम्म राष्ट्रप्रमुखको हैसियत भोजपुरको एउटा गाउँमा जन्मिएर, गाउँको पाठशालाको शिक्षादीक्षाबाट आएर , त्यस्ता ठाउँबाट आएर संघर्ष गर्दै राष्ट्रपतिको जिम्मेवारी बहन गर्ने। र, त्यो जिम्मेवारी एक पटक मात्रै होइन। फेरी उहाँ जिद्दि गरेर यहाँ रहनैपर्छ भनेर होइन। अघिल्लो कार्यकालको उहाँको सफल, सही र उत्कृष्ट मर्यादित भूमिका रह्यो।’
अध्यक्ष ओलीले महिलाहरु अब प्रधानमन्त्री पनि बन्न सक्ने भन्दै त्यसका लागि क्षमता विकास भने गर्नुपर्ने बताए।