
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा रहेको बताएका छन्। सोमबार पद्यमोदय विद्यालयको हिरक जयन्तीको अवसरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकार र संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा रहेको र शिक्षा क्षेत्रका सम्पूर्ण समस्याहरू एकमुष्टरूपमा सम्बोधन गर्न लागेको बताए।
उनले सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रुपमा विकास गर्न शैक्षिक गुरुयोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने ऐतिहासिक दायित्व रहेको बताए। उनले शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनोपयोगी आधुनिक विज्ञान, प्रविधि र व्यवसायिक बनाउन वर्तमान बदलिएको राजनीति र सामाजिक व्यवस्थाअनुरूपका पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक रहेको उल्लेख गरे।
प्रधानमन्त्री दाहालले प्राविधिक शिक्षालाई जोड दिँदै विश्वबजारमा प्रतिष्पर्धा गर्न योग्य जनशक्ति तयार पार्न विज्ञान, गणित र इन्जिनियरिङलाई माध्यमिक तहदेखि नै अनिवार्य विषय बनाउँदै उच्च शिक्षा अनुसन्धानमुखी बनाउन आवश्यक रहेको बताए।
यसका निम्ति नीतिगत, कानूनी, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा सरकारी प्रयासमा बौद्धिक वर्गको सहयोग र सहकार्य आवश्यक रहेको बताए।
प्रधानमन्त्री दाहालले भने, ‘शिक्षा सामाजिक, सांस्कृतिक विकासको माध्यम मात्र नभइ देशको समृद्धि र विकासको सबैभन्दा महत्वपूर्ण पक्ष हो। जुन राष्ट्रले शिक्षाको गुणस्तर र विकासमा जोड दिन्छ, त्यो राष्ट्रले विकासका हरेक पक्षमा आफूलाई अब्बल प्रमाणित गर्नसक्छ। सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रुपमा विकास गर्न शैक्षिक गुरुयोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने ऐतिहासिक दायित्व हाम्रोअघि छ। यसलाई ध्यान दिँदै वर्तमान सरकार संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको छ। उक्त ऐन पारित गरी शिक्षा क्षेत्रमा विद्यमान समस्याहरुको प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिवद्ध छ।’
प्रधानमन्त्री दाहालले शिक्षाको विकास देश र जनताको सर्वाङ्गिण विकासको आधार स्तम्भ भएको बताए। उनले शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनोपयोगी आधुनिक विज्ञान, प्रविधि र व्यवसायिक बनाउन वर्तमान बदलिएको राजनीति र सामाजिक व्यवस्था अनुरुपका पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक रहेको बताए।