बारा–२ मा उपेन्द्र यादवलाई सघाउने कांग्रेसको निर्णय

काठमाडौं ।  नेपाली कांग्रेसले बारा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ। आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२ मा अध्यक्ष यादवलाई सघाउने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए।

कांग्रेसले तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन–२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ। तर, सत्ता गठबन्धन दलको हैसियतले अध्यक्ष यादवलाई सहयोग गर्ने निर्णय कांग्रेसले गरेको हो।

वैशाख १० गतेको उपनिर्वाचनमा तनहुँ–१ मा कांग्रेसका भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा. स्वर्णिम वाग्ले, चितवन–२ मा रास्वपा सभापति रवि लामिछाने, कांग्रेसका श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार रहेका छन्।

यस्तै बारा–२ मा सत्ता गठबन्धनबाट यादव, रास्वपाबाट रमेश खरेल र जनमत पार्टीबाट शिवचन्द्र कुशवाह उम्मेदवार रहेका छन्। यस क्षेत्रमा एमालेले उम्मेदवार टुंगो लगाएको छैन्।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation