लुम्बिनी । २५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा शुक्रबार लुम्बिनीमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले लुम्बिनीको विकासका लागि सरकारले अब ठोस योजनाका साथ अघि बढाउने बताएका छन् ।
लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्राममा रहेका ऐतिहासिक र पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षण र त्यस क्षेत्रको दिगो विकास गर्दै बृहत्तर लुम्बिनी क्षेत्रको रुपमा अघि बढाउने उनले बताए ।
बृहत्तर लुम्बिनी क्षेत्रको रूपमा लुम्बिनीलाई विकास गर्न आफूले विगतमा संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनसँग छलफल गरेको उनले बताए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशभित्र बृहत् लुम्बिनी सर्किटको सम्भावना भएर पनि अगाडि बढ्न नसकेको बताए ।
रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई शान्ति क्षेत्र घोषणा गरी शान्ति क्षेत्रको रुपमा विश्वव्यापी रुपमा फैलाउन जरुरी भएको बताए ।












