किशोरकिशोरीको प्रश्न : छिमेकी पालिकामा माध्यमिक शिक्षा निःशुल्क भैरहँदा बाणगङ्गामा कहिले हुने ?

कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिकाका किशोरकिशोरीले जिल्लाका अन्य नगरपालिकाहरुमा क्रमशः माध्यमिक शिक्षा निशुल्क भैरहँदा बाणगङ्गा नगरपालिकाले यसमा वास्ता नगरेको भन्दै आपत्ति जनाएका छन । आज नगर स्तरिय किशोरकिशोरी तथा युवा संजालको आयोजनामा भएको किशोरकिशोरी तथा युवा मैत्री कार्यक्रम सञ्चालनका लागि सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि तथा नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सङ्ग यस्तो प्रश्न राख्दै आपत्ती जनाएका हुन ।

अन्तरक्रिया कार्यक्रममा सहभागि बाट उठेका प्रश्नको जबाफ सहित मन्तव्य राख्दै बाणगङ्गा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले नगर स्तरिय किशोरकिशोरी तथा युवा संजालले पछिल्लो समय बाणगङ्गामा किशोरकिशोरी र बालबालिकाको क्षेत्रमा उल्लेख्य कार्य गरेको भन्दै प्रसम्सा गर्नुभएको थियो । नगरलाई मात्र नभएर सिङ्गो देशलाई नै सकारात्मक बाटोमा हिडाउनको लागि किशोरकिशोरीहरुको भुमिका महत्वपुर्ण हुनेभएकाले यस्ता कार्यहरुलई अझ सशक्त ढङ्ग बाट अघि बढाउन पनि उहाँले आग्रह गर्नुभएको थियो । नगरमा रहेका बालबालिका र किशोरकिशोरीहरुका लागि विभिन्न संघ सस्था र कार्यक्रम मार्फत नगरले सहयोग गरिरहेको भन्दै समाजका विकृति र विसङ्गति प्रति अझ सशक्त भएर अगाडि बढ्न पनि उहाँले आग्रह गर्नुभएको थियो ।

कोपवाको महेन्द्र माध्यमिक विद्यालयमा अध्यानरत लब कुश यादवले गरेको बाणगंगामा किन माध्यमिक शिक्षा निशुल्क नभएको भन्ने प्रश्नको जबाफ दिदै नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसिले बाणगङ्गामा नि.मा.वि. र मा.वि. तहका विद्यालयको सङ्ख्या अन्य पालिकाको तुलनामा बढि रहेकोले खर्च धेरै आउने भएकाले अझै निशुल्क गर्न नसकिएको भएपनि त्यस प्रति नगर गम्भीर रहेको बताउनु भएको थियो । त्यस्तै उहाँले बालबालिका र किशोरकिशोरीहरुको क्षेत्रमा नगरले प्रयाप्त बजेट छुट्याइरहेको बताउनु भएको छ । सहभागी बाट उठेका अधिकांश प्रश्नको जबाफ दिएका जिसिले नगर र वडा बाट आउने तालिम, रोजगार लगायतका अवसरहरु गुम्न नदिनको लागि स्वयम हामिहरु नै चनाखो हुन आवश्यक रहेको बताउनु भएको छ ।

कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सञ्जु सारु मगर, कार्यपालिका सदस्य पिताम्बर वि.क लगायतले मन्तव्य राख्नुभएको थियो । त्यस्तै कार्यक्रममा नगर स्तरीय किशोरकिशोरी तथा युवा संजाल बाणगङ्गाकी अध्यक्ष अर्चना आचार्यले समाजका हरेक विकृति र विसङ्गती प्रति खबरदारी गर्नको लागि यस सञ्जाललाई आफुहरुले अझ सशक्त ढङ्ग बाट अघि बढाउने बताउनु भएको थियो ।

नगर स्तरीय किशोरकिशोरी तथा युवा संजाल बाणगङ्गाकी अध्यक्ष अर्चना आचार्यको अध्यक्षता, बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीको प्रमुख आतिथ्यता, नगर प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालको विशिष्ट आतिथ्यता, वडा नम्बर १ का वडा अध्यक्ष सञ्जु सारु मगर, कार्यपालिका सदस्य पिताम्बर बि.क., सिद्धार्थ सामाजिक विकास केन्द्रका निवर्तमा अध्यक्ष तेज प्रसाद आचार्य, नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसि, महिला बालबालिका तथा ज्येष्ट नागरिक शाखा प्रमुख सुशिला पन्त, बाणगंगा नगर स्तरीय य’वा क्लबका अध्यक्ष मधुसुदन भुसाल लगायतको आतिथ्यता रहेको कार्यक्रममा सञ्जालका कोषाध्यक्ष योगेश कुमार चौधरीले अन्तरक्रिया कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो ।

बाणगंगाका विभिन्न वडाहरु बाट प्रतिनिधित्व गर्दै सञ्जालमा जोडिएका बालबालिका तथा किशोरकिशोरीहरुको सहभागिता रहेको कार्यक्रममा सञ्जालकी सदस्य अफ्सरा थारुको स्वागत तथा सञ्जालकी सचीव पबित्रा थारुको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation