पेस्तोल सहित रुपन्देहीमा २ जना पक्राउ

बुटवल। गएको साउन २९ गते राति बसन्तपुर बेलहिया बाईपास सडकमा गोली प्रहार गरी फरार रहेका २ जनालाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ ।

रोहिण गाउपालिका वडा नं ४ मा रहेको न्यू सिद्धार्थ रेष्टुरेण्टमा ११ बजे राति लुटपाट गरि भागेकाहरुसंग बेलहिया बाईपास सडकमा जम्काभेट भएपछि बेलहियाका बिकास गुरुङ्ग माथी गोली प्रहार भएको थियो।

प्रहरीले उक्त घटनामा सम्लग्न रुपन्देही जिल्ला मायादेवी गाउँपालिका वडा नम्बर ७ महुवारी बस्ने ३२ बर्षिय पवनराज भर र सिद्धार्थनगर नगर पालिका वडा नम्बर ४ दोगहरा बस्ने २१ बर्षिय मोहम्मद अरसद मुसलमान ९काजु० लाई नियन्त्रणमा लिएको छ। घटनामै संलग्न भई गोली हान्ने शुटर कृष्ण भुज भने फरार रहेका छन्।

रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रविन्द्र रेग्मीका अनुसार उनिहरुको साथबाट ७६ दशमलव एस७ आरएमओ मेड ईन युएसए नम्बर ७११११ लेखेको अटोमेटिक पेस्तोल र होटलबाट चोरी भएको मोबाईल फोन समेत बरामद भएको छ।

उनीहरुले साउन २९ गते राती करिब पौने ११ बजे रोहिणी गाउँपालिका वडा नम्बर १ मा रहेको न्यू सिद्धार्थ रेष्टुरेण्टमा पसेर हतियार देखाई नगद, सुनका गरगहना र मोबाईल समेत लुटपाट गरि भागेका लुटेराहरुलाई पिछा गर्दै गएका गुरुङ्गले रोक्न खोजे पछि मोटरसाईकलमा सवार ३ जना मध्ये बिचमा बसेका कृष्ण भुजले गोली प्रहार गरेको प्रहरीको भनाई छ।

लुटेराहरुको खोजी गर्दै जाने क्रममा बसन्तपुर बेलहिया बाईपास सडकमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बस्ने २८ बर्षिय बिकास गुरुङ्ग गोली लागी घाईते अवस्थामा फेला परेका थिए। अहिले गुरुङ्गको अवश्था सामान्य रहेको जानकारी दिए ।

घटनाका सम्वन्धमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयले गठन गरेको तीन जना प्रहरी निरिक्षकहरुको अनुसन्धान टोलीले ६ दिन भित्र नै २ जना अभियुक्तहरुलाई पक्राउ गरि सार्वजनिक गरेको प्रहरीको भनाई छ।

पक्राउ परेका मध्ये पवनराज भर यस अघि सार्वजनिक अपराध, लागुऔषध, डाका चोरी र राहजनी सम्बन्धि मुद्दामा जेल सजाय पाई ६ महिना अघि निस्केका र उनै राजभरको मूख्य योजनामा लुटपाट भएको प्रहरीको दावी छ।

पक्राउ परेका दुवै जनामाथि चोरी डकैती, ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना मुद्दा चलाईएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिए।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation