
विमल गैरे, सैनामैना । सैनामैना नगरपालिका वडा नं. ३ मा सञ्चालित वडा स्तरीय आमा समूह परिचालन तथा समन्वय समितिको प्रथम साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।
समितिकी अध्यक्ष रिना केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष तम बहादुर पुर्जाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा कार्यपालिका सदस्य मिरा क्षेत्री, वडा सदस्य कर्णबहादुर कार्की लगायत वडा स्तरीय आमा समूहका पदाधिकारी, सदस्यहरू तथा ११ वटै टोल विकास संस्थाका अध्यक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा सदस्य कर्णबहादुर कार्कीले वडाका दिदीबहिनीहरूलाई एकताबद्ध गर्ने, नेतृत्व विकास गराउने तथा संगठित रूपमा अगाडि बढाउने सोच र अभियानको सुरुवात गर्दै वडा स्तरीय आमा समुह गठनमा महत्वपुर्ण भुमिका खेल्ने कार्यपालिका सदस्य मिरा क्षेत्रीलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आमा समूहलाई अझ सशक्त बनाउँदै सबै सदस्यहरू एकताबद्ध भएर सामाजिक तथा विकास निर्माणका गतिविधिमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो।
त्यसैगरी कार्यपालिका सदस्य मिरा क्षेत्रीले अन्यत्र नभएको वडा स्तरीय आमा समूहको अवधारणा आफ्नो वडामा सफलतापूर्वक सञ्चालन भइरहेको बताउँदै यस अभियानलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दिदीबहिनी तथा सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो। उहाँले वडामा सञ्चालन हुने विभिन्न सीपमूलक तथा क्षमता विकाससम्बन्धी तालिमहरू अब आमा समूहमार्फत नै सञ्चालन गरिने जानकारी दिँदै महिलाहरूको सक्रियता र एकताले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष तम बहादुर पुर्जाले महिलाहरू इमान्दार, जिम्मेवार र लगनशील रूपमा काम गर्ने भएकाले समाज र राष्ट्रको विकासमा उनीहरूको नेतृत्व अपरिहार्य रहेको बताउनुभयो। “महिलाहरूलाई अवसर र नेतृत्व प्रदान गर्न सके समाज मात्र होइन, देशकै विकास सम्भव छ,” भन्दै उहाँले महिला सशक्तीकरणका लागि वडा कार्यालय सदैव प्रतिबद्ध रहने उल्लेख गर्नुभयो।
साधारण सभाले आगामी दिनमा वडा स्तरीय आमा समूहलाई अझ प्रभावकारी, संगठित र परिणाममुखी बनाउँदै महिला नेतृत्व विकास, सामाजिक सचेतना तथा सामुदायिक विकासका गतिविधिलाई थप सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
यस अवसरमा समितिकी अध्यक्ष रिना केसीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले वर्षभरि सञ्चालन गरेका गतिविधिहरूको समीक्षा गर्नुका साथै आगामी कार्ययोजना तथा लक्ष्यबारे जानकारी गराउनुभयो।
त्यसैगरी कोषाध्यक्ष रमा पौडेलले आर्थिक वर्षको आय–व्यय विवरणसहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत आर्थिक प्रतिवेदनमाथि सह–सचिव वसन्ता खड्काले सहजीकरण गर्दै सहभागीहरूलाई आवश्यक जानकारी प्रदान गर्नुभएको थियो।
कार्यक्रममा आमा समूहकी उपाध्यक्ष कालिका शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव कमला क्षेत्रीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
साधारण सभामा प्रस्तुत वार्षिक तथा आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो। कार्यक्रमले वडा स्तरीय आमा समूहको संस्थागत विकास, महिला नेतृत्व प्रवर्द्धन तथा सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै सम्पन्न भएको थियो।












