यो गठबन्धन बचाउन सकिएन भने अर्को गठबन्धन रोक्न सकिँदैनः गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कुनै पनि हालतमा गठबन्धन नतोडिने बताएका छन्। कांग्रेसले गठबन्धन तोड्दा अर्को गठबन्धन हुने उनको भनाइ छ।

कांग्रेस भातृसंस्था तरुण दलले आयोजना गरेको कार्यक्रममा उनले गठबन्धनकै कारण स्थानीय तह निर्वाचनमा कांग्रेस पहिलो पार्टी बनेको बताए । गठबन्धनकै आडमा हामीले स्थानीय तह निर्वाचनमा राम्रो गर्‍यौं। पहिलो पार्टी बन्यौं। त्यसैले गठबन्धनको क्षमता निबिर्सौं। खोला तरेर लौरो नबिर्सिउँ, उनले भने।

तरुण दलका पदाधिकारीहरुले मंसिर ४ गते हुने संघ तथा प्रदेश निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लड्नुपर्ने बताएका थिए। उनीहरुले कांग्रेस एक्लै लडेर पनि बहुमत ल्याउने दाबी गरेपछि गृहमन्त्री खाँणले उनीहरुलाई जवाफ फर्काएका थिए।

उनले वर्तमान गठबन्धन तोडिँदा एमालेसँग वाम गठबन्धन हुने सम्भावना रहेको आँकलनसमेत गरे। यो गठबन्धन बचाउन सकिएन भने अर्को गठबन्धन रोक्न सकिँदैन। त्यसपछि निर्वाचनको आँकलन गर्नुहोला। कति सिट जित्छौं गन्नुहोला, तरुण दलका नेताहरुलाई उनले भने।

उनले जसले जे भने पनि कांग्रेस केन्द्रीय समितिले गठबन्धन नतोड्ने स्पष्ट पारे। ुहामीले उम्मेदवारी दिँदा कहाँ दिने भनेर बुद्धि पुर्‍याउँ। तर गठबन्धन तोडेर हेरौं भन्नुहुन्छ भने कांग्रेस केन्द्रीय समितिले गठबन्धन तोड्दैन। तरुण दलका साथीहरुलाई म ुमिसलिडु गर्न चाहन्न, उनले भने।

उनले सरकारको गृहमन्त्री भएको नाताले भने, गठबन्धन बचाएर आम निर्वाचन सुनिश्चित र सुरक्षित गर्ने। यो निर्वाचनमा शान्ति सुरक्षा प्रदान गर्ने, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मेरो दायित्व छ।
उनले गणेशमानले पनि गठबन्धन गरेरै निर्वाचन लडेको स्मरण गर्दै उनले कांग्रेस पार्टीके नेतृत्वमा जारी भएको संविधानलाई पनि बचाउनु्पर्ने दायित्व रहेको बताए।

गठबन्धनको बैठकमा कसरी उम्मेदवारी दिने र एकअर्काका उम्मेदवारलाई कसरी जिताउने भन्नेबारे पटक पटक छलफल हुने गरेको उनको भनाइ थियो।

आफ्नो उम्मेदवारलाई पनि जिताउनु छ र गठबन्धनमा रहेका अरु दलका उम्मेदवारलाई पनि जिताउनु छ। आगामी निर्वाचनमा धेरै चुनौती छ भनेर गठबन्धन बैठकमा छलफल हुने गरेको छ। मैले नआतिनुस् भन्ने गरेको छु। कांग्रेस नेता कार्यकर्तालाई प्रशिक्षित गर्ने र आफ्ना उम्मेदवार नभएका ठाउँमा गठबन्नका उम्मेदवार जिताउने भनेका छौं, उनले भने।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation