गुल्मीमा ७ सय ४२ जना उम्मेदवारलाई १३ करोड ५२ लाख जरिवाना

गुल्मी । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७९ को खर्च विवरण नबुझाउने गुल्मीका ७४२ जना उम्मेदवारलाई जरिवाना गरेको छ । समयमै खर्च विवरण नबुझाउने र चित्तबुझ्दो स्पष्टीकरण नबुझाउने ७ सय ४२ जना उम्मेदवारलाई जरिवाना गरेको हो ।
आयोगको कारबाहीमा पर्नेहरूमा नगरपालिका प्रमुख उपप्रमुखका उम्मेदवार १३ जना, गाउँपालिका अध्यक्ष उपाध्यक्षका उम्मेदवार ४७ जना, नगरपालिको वडाध्यक्ष र सदस्य पदका उम्मेदवार २ सय १२ जना र गाउँपालिकाका वडाध्यक्ष र सदस्य पदका उम्मेदवार ४ सय ७० जना रहेका छन् । स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार भई कानुन बमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने तथा बिलम्ब गरी बुझाउनेहरू उपर स्पष्टीकरण पेस गर्न आयोगको मिति २०७९ साउन ३१ को निर्णय बमोजिम भदौ १ गते गोरखापत्रमा सूचना प्रकाशित गरेको थियो । सूचना बमोजिम ७ दिनभित्र स्पष्टीकरण पेस नगरेको तथा प्राप्त स्पष्टीकरणको व्यहोरा चित्तबुझ्दो नदेखिएको आधारमा निर्वाचन आायेग ऐन, २०७३ को दफा २४ बमोजिम निर्वाचन आयोग ऐनको दफा २६ उपदफा (१) बमोजिम जरिवाना गरेको आयोगले जनाएको छ ।

आयोगले नगरपालिका प्रमुख र उपप्रमुखको हकमा ४ लाख ५० हजार, वडाध्यक्ष र सदस्यहरूको २ लाख, गाउँपालिका अध्यक्ष उपाध्यक्षको ३ लाख ५० हजार र वडाध्यक्ष तथा सदस्यहरूको १ लाख ५० हजार जरिवाना निर्धाण गरेको छ । जस अनुसार ७४७ जनालाई १३ करोड ५२ लाख जरिवाना गरिएको छ । उक्त जरिवाना अनुसार गुल्मीमा १३ जना नगरप्रमुख र उपप्रमुखका उम्मेदवारबाट ५८ लाख ५० हजार, वडाध्यक्ष र सदस्यका २ सय १२ जना उम्मेदवारबाट ४ करोड २४ लाख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षका ४७ जना उम्मेदवारबाट १ करोड ६४ लाख ५० हजार र वडाध्यक्ष र सदस्यका ४ सय ७० जना उम्मेदबारबाट ७ करोड ५ लाख जरिवाना संकलन हुनेछ ।

निर्वाचित जनप्रतिनिधिमध्ये मुसिकोट नगरपालिकाका प्रमुख जीवलाल खरेल जीवन र उपप्रमुख गंगा श्रेष्ठ तथा कालिगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापा र सत्यवती गाउँपालिका उपाध्यक्ष निरमाया तरामु जरिवानामा परेका छन् ।
मुसीकोट २ का वडाध्यक्षका उम्मेदवार रविन्द्र केसी, ३ का वडाध्यक्ष शंकर बहादुर रायमाझी, ४ का वडाध्यक्ष जुक्तबहादुर छन्तेल, ५ का वडाध्यक्ष ऋषिश्वर अर्याल, ६ का वडाध्यक्ष खड्क बहादुर खड्का, ७ का वडाध्यक्ष हरिहर सापकोटा, ८ का वडाध्यक्ष रमेश विक, ९ का वडाध्यक्ष भुमा गुरुङ्ग छन् ।

त्यस्तै रेसुङ्गामा वडा नं.१ का वडाध्यक्ष राम प्रसाद पन्थी, २ का वडाध्यक्ष हिराबहादुर थापा, ५ का वडाध्यक्ष दुर्गा प्रसाद खनाल, ७ का रामप्रसाद पन्थी, १४ का धनबहादुर पुन जरिवाना तिर्नेमा परेका छन् । इश्मा गाउँपालिका २ का वडाध्यक्ष लोकनाथ आचार्य, ३ का वडाध्यक्ष ज्योतिराज कुँवर, ४ का राजु बस्नेत, कालिगण्डकी २ का वडाध्यक्ष रेशमराज न्यौपाने, ४ का होमबहादुर थापा, ५ का दानबहादुर राना, ६ का पूर्णबहादुर थापा, गुल्मी दरबार १ का वडाध्यक्ष राजेन्द्र कँडेल, चन्द्रकोट २ का वडाध्यक्ष कमल केसी, ७ का अनन्तराम भण्डारी जरिवानामा परेका छन् ।

छत्रकोट १ का वडाध्यक्ष घनश्याम न्यौपाने, ५ का रामप्रसाद कँडेल, धुर्कोट १ का वडाध्यक्ष चेतमान कुँवर, ४ का बीरबहादुर कुँवर, मदाने ६ का वडाध्यक्ष मनिराम थापा, सत्यवती ३ का जीतबहादुर तरामु, ५ का बाबुराम ज्ञवाली, ६ का विष्णुप्रसाद भण्डारी, ७ का लोकबहादुर बुढाथोकी, ८ का होमबहादुर राना पनि जरिवानामा परेका छन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation