विपद् व्यवस्थापन तथा जोखिम न्युनिकरण सम्वन्धि क्षमता अभिवृद्धि तालिम छत्रकोटमा सुरु

गुल्मी। गुल्मीको छत्रकोट गाउँपालिकामा विपद् व्यवस्थापन तथा जोखिम न्युनिकरण सम्वन्धि स्थानीय सरकारको क्षमता अभिवृद्धि तालिम आज (मंगलवार) देखि सुरु भएको छ । यु.एस.ए.आई.डी र आई.ओ. एमको मुख्य आयोजना एवम् नेपाल नगरपालिका महासंघ,गाउँपालिका राष्ट्रिय महासंघ नेपाल तथा एन.एस.सि.टिको सह–आयोजना र छत्रकोट गाउँपालिकाको सहजीकरणमा उक्त तालिम सुरु भएको हो।

छत्रकोट गाउँपालिकाको सभाहलमा सुरु भएको तालिमको उद्घाटन सत्रमा गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षता रहेको थियो। उद्घाटन सत्रमा वोल्दै गाउँपालिका अध्यक्ष पाण्डेयले स्थानीय सरकार सँग विपद् व्यवस्थापन तथा जोखिम न्युनीकरणका निम्ति नीति– नियम भए पनि हाल सम्म प्रभावकारी कार्यान्वयनमा चुनौती रहेको उल्लेख गर्दै सो तालिम पश्चात् सवै प्रकृयालाई अगाडि बढाउन थप सहज वातावरण सिर्जना हुने विस्वास समेत व्यक्त गर्नु भयो।

उद्घाटन पश्चात् गाउँपालिकामा रहेका सवै जनप्रतिनिधि र कर्मचारीहरुलाई तालिम सँग सम्वन्धित विषय वस्तुमा वस्तुगत प्रश्नमा जाँच समेत लिईएको थियो। यस्तै गाउँपालिकामा रहेका आर्थिक विकास ,सामाजिक विकास,पुर्वाधार विकास,सुशासन तथा विपद् व्यवस्थापन सहित विभिन्न ५ समुहमा विभाजन गरिएको थियोे । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवाली,प्रमुख प्रसाशकीय अधिकृत विर बहादुर पुन ,६ वटै वडाका वडाध्यक्षहरु, गाउँकार्यपालिकाका सदस्यहरु,विभिन्न विषयगत शाखाका शाखा प्रमुख सहित, गाउँपालिकामा कार्यरत सम्पुर्ण कर्मचारीहरुको सहभागिता रहेको छ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रशिक्षक पछाईले तालिमका समग्र विषय वस्तु माथि प्रकाश पार्नु भएको थियो। आजको तालिममा स्थानीयतहमा विपद् व्यवस्थापनको पुर्वतयारी, प्रतिकार्य,पुर्नः लाभ तथा अल्पीकरण,विपद्को शव्दावली,दिगो विकासका लक्ष्यहरु, विपद जोखिम न्युनिकरण सम्वन्धि राष्ट्रिय नीति २०७५,विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७४,वन ऐन २०७६,स्थानीय सरकार सञ्चालन ऐन २०७४, जोखिम न्युनिकरण रणनितिक कार्ययोजना तर्जुमा दिग्द दर्शन २०७८, बालमैत्री स्थानीय शासन प्रारुप २०७८, विकास र विपद् जोखिम व्यवस्थापन,प्रकोपका कारणहरु,विपद् व्यवस्थापनमा सरकारको प्राथमिकता लगाएतका विविध विषयमा प्रशिक्षण सम्पन्न भएको आयोजकले बताएको छ ।

यस्तै स्थानीय विपद् व्यवस्थापन ऐन २०७६ ,विपद्का प्रकारहरु,स्थानीय विपद् व्यवस्थापन समितिको काम,कर्तव्य र अधिकार ,व्यवस्थापन समितिको गठन, विपद् व्यवस्थापन तथा न्युनिकरणका लागि विभिन्न निकाय सँग हुनु पर्ने आवश्यक समन्वय ,सहजीकरण,तथा सहकार्य,स्थानीय विपद् व्यवस्थापन कोषका सम्वन्धमा समेत प्रशिक्षण सम्पन्न भएको छ। तालिममा प्रशिक्षक द्वय नगेन्द्र नेपाल र डिवी पछाईले सम्वन्धित विषयमा प्रशिक्षण दिनु भएको थियो। तालिम आज र भोलि गरि दुई दिन सम्म सञ्चालन हुने छत्रकोट गाउँपालिकाका विपद् व्यवस्थापन शाखाका शाखा प्रमुख गणेश बहादुर सिंजालीले बताउनु भयो। कार्यक्रमको सञ्चालन विपद् व्यवस्थापन शाखाका प्रमुख सिंजालीले गर्नु भएको थियो।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation