सल्यानको कपुरकोटमा जीप दुर्घटना ८ जनाको ज्यान गयो

सल्यान । सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

मृतकमध्ये एक महिला र सात पुरूष रहेको इलाका प्रहरी कार्यालय सल्यान कपुरकोटमा कार्यरत एक प्रहरीले जानकारी दिए। थप एक जना घाइतेलाई उपचारका लागि दाङ तर्फ पठाइएको छ।

हालसम्म मृतक कसैको पनि पहिचान खुलिसकेको छैन।

सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीले हालसम्म ८ जनाको मृत्यु भए पनि कसैको परिचय नखुलेको जानकारी दिए।

‘म घटनास्थल पुग्दैछु,’ उनले भने ‘ हालसम्म ८ जनाको मृत्यु भएको खबर छ, मृतक कसैको सनाखत भएको छैन।’

प्रहरीका अनुसार उक्त जीपमा कुल ९ जना सवार थिए।

प्रहरी स्रोतका अनुसार उनीहरू नेपालगञ्जबाट बिहे भोज खाएर सल्यानस्थित घर फर्कदै थिए।

‘नेपालगञ्जजको बिहेमा गएर घर फर्किदै गरेका मानिसहरू दुर्घटनामा परेका हुन्,’ ती प्रहरी अधिकारीले भने, ‘उनीहरू डबल क्याप जीप बुकिङ गरि घर फर्कदै गरेको खुलेको छ।’

मध्यराति साढे १ बजेतिर दुर्घटना हुँदा प्रहरीले समयमै थाहा नपाएर उद्धार र उपचारमा समस्या भइ मृतकको संख्या बढेको एक स्थानीयले बताए।

स्थानीयले दुर्घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय कपुरकोटबाट बिहान साढे ४ बजेतिर प्रहरी घटनास्थल पुगेको थियो।

दाङको तुलसीपुरस्थित गोटीखोला प्रहरी चौकीमा राति १२ बजे इन्ट्रि गरेर सल्यानतर्फ हिँडेको रा १ ज ५६३ नम्बरको डबल क्याप जीप जिल्लाको कपुरकोट गाउँपालिका वडा नं। ३ मुलपानीमा राति करिब सवा १ बजेतिर दुर्घटनामा परेको थियो।

जीप सडकबाट करिब ७० मिटर जति तल खसेको स्थानीयले बताएका छन्।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation