रुपन्देही ५, गठबन्धन तोडेर कांग्रेस र माओवादीका आआफ्नै उम्मेदवार

बुटवल । रुपन्देही क्षेत्र नंं. ५ मा सत्ता गठबन्धनका दुई मुख्य दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आआफ्ना उम्मेदवार उठाएका छन् ।
गठबन्धनका मुख्य दलहरु कांग्रेस र माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेश सभा (क) मा छुट्टाछुट्टै उम्मेदवारी दिएका हुन् ।

सत्ता गठन्धनबीचको भागबण्डा अनुसार प्रतिनिधि सभा र प्रदेश सभा (ख) कांग्रेसलाई तथा प्रदेश सभा (क) माओवादीको भागमा परेको थियो । तर प्रदेश सभा (क) मा पनि नेपाली कांग्रेसले विष्णु पोखरेललाई टिकट दिएर उम्मेदवारी दर्ता गरेको छ ।

नेपाली कांग्रेसले केन्द्रमा भएको सहमति विपरीत आफ्नो भागमा परेको क्षेत्रमा उम्मेदवारी दर्ता गरेपछि माओवादी केन्द्रले पनि प्रतिनिधि सभामा दिपिका शर्मा लम्साल र प्रदेश सभा (क) मा विनोद पहाडीले उम्मेदवारी दर्ता गरेका छन् ।

नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गरेका पोखरेलले कांग्रेसको भागमा परेको मोरङ–६ को प्रदेश सभा क्षेत्रमा माओवादी अध्यक्ष प्रचण्डले आफ्ना नातेदारलाई उम्मेदवार बनाउने गरी क्षेत्र सट्टापट्टा गरेकाले आफू नै गठबन्धनको उम्मेदवार भएको दावी गरे ।

‘प्रचण्डसँग शेखर कोइराला र गगन थापाको कुरा भएपछि मलाई बोलाएर पार्टीले टिकट दिएको हो’, पोखरेलले भने, ‘यो माओवादीको जनाधार कमजोर भएको क्षेत्र हो, माओवादीले उम्मेदवारी फिर्ता लिनु पर्छ ।’

माओवादी केन्द्रीय सदस्य विनोद पहाडीले भने कांग्रेसले बद्मासी गरेको आरोप लगाए । ‘नेपाली कांग्रेसले यो क्षेत्र र नवलपरासी २ मा पनि बद्मासी गरेको छ, यहाँ भरत शाहको एक्लै जित्न सकिन्छ भन्ने अहमताले काम गरेको हुनसक्छ’, पहाडीले भने, ‘कांग्रेसले प्रदेश सभा (क) को उम्मेदवारी फिर्ता नलिए प्रतिनिधिसभामा पनि गठबन्धन हुँदैन हामी एक्लै चुनाव लड्छौं ।’

कांग्रेसले सहमति पालना नगरे नेता विशेषले निर्देशन दिए पनि जिल्लाभर माओवादी कार्यकर्ताले रुखमा भोट हाल्न बाध्य नहुने पहाडीले बताए ।

रूपन्देही ५ मा गत स्थानीय तह चुनावमा वडाध्यक्षहरुले पाएको मत अनुसार एमालेको २७१४५, कांग्रेसको २६८८८, जसपाको ९३३७, जनमत पार्टीको ५६५६, माओवादी केन्द्रको ४६२५, लोसपाको ३५५६, राप्रपाको २८१३ र नेकपा एकीकृत समाजवादीको ११६३ मत छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation