रूपन्देही २ मा गठबन्धनले जनमुक्ति पार्टीका थापालाई समर्थन गर्ने

उपकार अनलाइन, रुपन्देही ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनले रूपन्देही प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशव बहादुर थापालाई साझा उम्मेदवारका रूपमा समर्थन गर्ने भएको छ।

बुधबार सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चा पार्टी अध्यक्ष चित्र बहादुर केसीले संयुक्त विज्ञप्ति जारी गरी थापालाई समर्थन गर्ने जानकारी दिएका हुन्।

यसअघि रूपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका राजु गुरूङले उम्मेदवारी दिएका थिए। गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले जनमुक्ति पार्टीका थापालाई समर्थन गर्ने भएको हो।

कर्जा सूचना केन्द्रले २०७४ कात्तिक २८ र असोज ९ मा राजु गुरुङका नामलाई १००८८ र १००३० नम्बरको कालो सूचीमा राखिएको भन्ने जानकारी निर्वाचन आयोगलाई गराएको थियो।

यहाँ एमालेका तर्फबाट विष्णु पौडेल उम्मेदवार छन्।

२०४४ सालमा प्रगतिशील विद्यार्थी संगठनका इकाई कमिटी हुँदै मार्क्सवादी राजनीतिक यात्रा सुरू गरेका केशव बहादुर थापा २०५१ सालमा जनमुक्ति पार्टीमा प्रवेश गरेका थिए।

२०५३ सालमा शिक्षक पेसाबाट राजीनामा दिएर पूर्णकालीन रूपमा राजनीतिमा लागेका उनी बुटवल(८ का स्थायी बासिन्दा हुन्।

थापा जनमुक्ति पार्टीको चौथो र पाँचौं महाधिवेशनबाट दुई कार्यकाल महासचिव भएका थिए। २०७८ साल भदौमा भएको छैठौं महाधिवेशनयता उक्त पार्टीको कार्यकारी अध्यक्ष छन्।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation