अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवाबाट मात्रै

काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र गर्नुपर्ने निर्णय गरेको छ ।

प्राधिकरणकाअनुसार कुटनीतिक चार्टर्ड उडान, कार्गो र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनेछन् । गएको जेठ २ गतेदेखि सञ्चालनमा आएको भैरहवा विमानस्थललाई पूर्ण रूपमा प्रयोगमा ल्याउनको लागि प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका अरु सबै चार्टर्ड उडानमा प्रतिबन्ध लगाएको हो ।

प्राधिकरणले हिजोदेखि लागू गरेको हिउँदे उडान तालिका अनुसार चार्टर्ड उडानसँगै काठमाण्डौबाट हुँदै आएका हरेक तीन उडानमा एक उडानसमेत भैरहवाबाटै हुने भएका छन् । प्राधिकरणले विदेशबाट आउने चार्टर्ड उडानलाई भने यसअघि नै भैरहवा अवतरण गराउन थालिसकेको छ ।

गौतमबुद्ध विमानस्थलले सञ्चालन खर्चसमेत उठाउन नसकेपछि प्राधिकरणले नेपाल वायुसेवा निगम र हिमालय एअरलाइन्ससहित तीन विदेशी हवाई कम्पनीलाई हिउँदे उडान तालिकाअनुसार गौतमबुद्ध विमानस्थलमा दैनिक एक उडान गर्न निर्देशन दिएको छ । तर वायुसेवा निगमले हिजो पुरानै उडान तालिकाअनुसार उडानको तयारी गर्दा प्राधिकरणले दिल्ली उडान रोकिदिएको थियो । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगम, हिमालय एअरलाइन्स, एअर अरेबिया, कतार एअरवेज, फ्लाई दुबईले दैनिक तीनभन्दा बढी उडान गरिरहेका छन् ।

गौतमबुद्ध विमानस्थलमा जजिरा एअरलाइन्सले मात्र हप्ताको तीन उडान गरिरहेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation