गठबन्धनको सरकार, महँगीको उपहार : रायमाझी

अर्घाखाँची । एमाले सचिव एवं प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले मंसिर ४ गतेपछि एमाले सरकार बन्ने दाबी गरेका छन् । सन्धिखर्क नगरपालिका–१२ डिभर्नामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री रायमाझीले गठबन्धन सरकारले देशमा महँगी बढाएर उद्योगी, व्यवसायीलाई थला पारेको टिप्पणी गरे । ‘गठबन्धनको सरकार, महँगीको उपहार भयो,’ उनले भने ।

एमाले एक्लैलाई चुनाव जित्न नसक्ने भएपछि महागठबन्धनले तमासा देखाएको उनले बताए । एमाले नेतृत्वको सरकार छँदा विकासका काम तीव्ररुपमा अघि भन्दै रायमाझीले अहिले गठबन्धन सरकार आएपछि सबै काम रोकिएको दाबी गरे ।

केपी ओली प्रधानमन्त्री भएको बेला आफ्नै सरकार ढालेर पुष्पकमल दाहाल कांग्रेसको पुच्छर भएको आरोप पनि उनले लगाए । उनले दाहाल कांग्रेसतिर लागेपछि आफूले साथ छाडेको बताए । दुई कम्युनिष्ट पार्टी एमाले र माओवादीलाई एउटै पार्टीमा एकता गर्न आफूले पहल गरेको उनको दाबी थियो । ‘दाहालले हामीलाई ल्याएर ओलीसँग एकता गर्नुभयो, बीचमा हामीलाई धोका दिएर कांग्रेसको पुच्छर बनेपछि मैले एकताकै निरन्तरता दिएर ओलीसँग बसें,’ उनले भने, ‘म कांग्रेसको पुच्छर हुन मन लागेन, गइनँ । एमालेमै बसें । म त एमाले भएँ, माओवादीमा रहेका सबै एमालेमै आउनुस् ।’

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation