
दाङ । दाङमा प्रतिनिधिसभा अन्तर्गत तीनवटै निर्वाचन क्षेत्रमा एमाले पराजित भएको छ। २०७४ सालको निर्वाचनमा वामकिल्लाका रूपमा चिनिएको एमाले योपटक भने जितविहीन भएको हो। एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा एमालेले प्रतिनिधिसभा र प्रदेशसभातर्फ सबै सिट गुमाएको हो।
प्रतिनिधिसभाततर्फ निर्वाचन क्षेत्र नं. १ मा एमाले उम्मेदवार शान्ता चौधरी पराजित भएकी हुन्। उनी नेकपा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीसँग पराजित भइन् भने एमाले महासचिव शंकरपोखरेल पनि हारबाट जोगिन सकेनन्।
उनी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मासँग पराजित भए। दाङ क्षेत्र नं. २ मा एमाले महासचिव पोखरेललाई बलियो उम्मेदवारका रूपमा लिइएको थियो तर अन्तिम नतिजा भने उनको पक्षमा हुन सकेन।
त्यस्तै दाङ क्षेत्र नं. ३ बाट एमाले उम्मेदवार कोमल वली पनि पराजित भएकी छन्। उनी नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीसँग पराजित भएकी हुन्। एमालेले दाङका तीन क्षेत्रका ६ वटै प्रदेशसभा पनि गुमाएको छ।
प्रदेशमा यस्ताे छ अवस्था
दाङ १ (क) बाट माओवादी केन्द्रका इन्द्रजित थारू विजयी भए। एमालेका गंगाराम भट्टराई ८ हजार ९४४ मतसहित पराजित भए।
२ (ख) मा नेपाली कांग्रेसका अनुराग खड्का विजयी भए। उक्त क्षेत्रमा एमालेका १३ हजार १७० मतसहित कुल बहादुर खत्री क्षेत्री पराजित भए।
दाङ क्षेत्र नम्बर २ (क) बाट नेपाली कांग्रेसका राजु खनाल विजयी भए। खनालले १५ हजार ६१६ मत पाए भने नेकपा एमालेका बलिभद्र राना १४ हजार ४४९ मत सहित पराजित भए।
यस्तै दाङ २ (ख) मा नेपाली कांग्रेसका प्रचण्डविक्रम न्यौपाने विजयी भए। उनले १७ हजार ४६९ मत पाए। दोस्रो स्थानमा नेकपा एमालेका गिरिराज केसी रहेका छन्। उनले १६ हजार ६९० मत पाएका छन्।
दाङ ३ का दुवै क्षेत्रमा पनि एमाले पराजित भएको छ। ३ (क)मा एमालेका घनश्याम पाण्डे १४ हजार ४५० मतसहित पराजित भएका हुन्। नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी १९ हजार ८५० मतसहित विजयी भए।
यस्तै ३ (ख) मा नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की २२ हजार ३२१ मतसहित विजयी भए। नेकपा एमालेका हुकुमबहादुर बस्नेत दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भए। उनले २० हजार १५८ मत पाएका छन्।