गुल्मी–१ मा एमाले उपमहासचिव ज्ञवालीलाई हराउँदै कांग्रेस नेता डा. भण्डारी विजयी

काठमाण्डाै । गुल्मी क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारी विजयी हुनुभएको छ । उहाँले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्नुभयो ।

मतपरिणाम अनुसार भण्डारीले ३२ हजार २ सय २७ मत ल्याउनुभयो । त्यस्तै ज्ञवालीले ३० हजार ९ सय ३५ मत प्राप्त गर्नुभएको छ । पूर्ण नतिजा आधिकारिक रुपमा घोषणा गर्न बाँकी रहे पनि नेता ज्ञवालीले सामाजिक सञ्जालमार्फत् भण्डारीलाई जितको शुभकामना व्यक्त गर्नुभएको छ ।

यसअघि २०७४ सालको चुनावमा भण्डारी ज्ञवालीसँग पराजित हुनुभएको थियो । त्यसअघि २०७० सालमा भण्डारी विजयी हुनुभएको थियो । समाजशास्त्र र व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका भण्डारी नेपाल विद्यार्थी सङ्घको पूर्व महामन्त्री हुनुहुन्छ । उहाँ २०६२ र ०६३ को आन्दोलनमा नेपाली कांग्रेसको राजनीतिक कार्यदिशा नभए पनि गणतन्त्रका पक्षमा खुलेर लाग्नुभएको थियो ।

२०६४ सालको संविधानसभा चुनावमा यही क्षेत्रबाट उम्मेदवार भएका भण्डारी नेकपा एमालेका प्रदीप ज्ञवालीसँग पराजित हुनुभएको थियो । तर २०७० सालको चुनावमा भने प्रदीप ज्ञवालीलाई नै हराएर उहाँले चुनाव जित्नुभएको हो । २०७४ सालको संसदीय चुनावमा भने उहाँ ज्ञवालीसँग पराजित हुनुभयो । २०५६ सालको संसदीय चुनाव जितेका ज्ञवाली २०६४ सालको संविधानसभा चुनावमा पनि विजयी हुनुभएको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation