लुम्बिनीमा संसदीय दलको नेता बन्न दौडधूप

बुटवल ।
प्रतिनिधि तथा प्रदेश सभाको समानुपातिकको पनि करिब करिब सांसद टुङ्गो लागेपछि लुम्बिनी प्रदेशमा संसदीय दलको नेता बन्नको लागि रस्साकस्सी सुरु भएको छ ।

संसदीय दलको नेता बन्नसाथ भावी मुख्यमन्त्रीको बन्ने सम्भावना धेरै रहन्छ । त्यसैले, दलको नेता बन्न खास गरी ठुला दल काँग्रेस, एमाले र माओवादीका आकाङ्क्षी सांसदहरू आन्तरिक तथा बाह्य लविङ्गको लागि दौडधुपमा व्यस्त छन् ।

उनीहरू आफ्ना पार्टीका केन्द्रीय नेताहरूसँग ‘लबिङ’ गरिरहेका छन् । कतिपयले पार्टीभित्र वरिष्ठ भएकाले दलको नेता हुने दाबी गरेका छन् भने केहीले संसदीय अनुभव अनि मन्त्री भएका आधारमा भावी मुख्यमन्त्रीको आकाङ्क्षा राखेका छन् ।

यसैबीच प्रदेशमा सत्ता गठबन्धन कायम रहेको नेपाली काँग्रेसले मुख्यमन्त्री पाउने सक्ने सम्भावना धेरै रहेकोले नेपाली काँग्रेसमा अहिले लुम्बिनी प्रदेशसभा सदस्यमा विजयी भएकामध्ये तीनजना संसदीय दलको नेताको लागि दौडधुपमा छन् ।

हुन्, डिल्लीबहादुर चौधरी, राजु खनाल र अब्दुल रज्जाक ।

दाङ ३ ‘क’ बाट निर्वाचित डिल्लीबहादुर चौधरी यसअघि २०७० मा संविधानसभा सदस्यका साथै राज्यमन्त्री बनेका थिए ।

०७४ सालमा सोही क्षेत्रबाट प्रदेश सभा जितेर हाल सहरी विकास तथा पर्यटन मन्त्रीको जिम्मेवारीमा छन् । खास गरी कमैया मुक्ति आन्दोलनको क्रममा बेस संस्थाको अध्यक्ष भएको नाताले शेरबहादुर देउवासँग २०५७ सालदेखि नै विशेष सम्बन्ध बनाएका चौधरी मुख्यमन्त्रीको प्रबल दाबेदार हुन् । त्यसैले, संसदीय दलको नेता बन्ने आन्तरिक तयारीमा अहोरात्र खटेका छन् ।

यस्तै दाङ २ ‘ख’ का राजु खनाल हाल नेपाली काँग्रेसको प्रदेश उपसभापति हुन् । उनले पार्टीको महाधिवेशनमा देउवा प्यानलका नेता पराजित गरी लुम्बिनी प्रदेश उप-सभापति जितेका थिए । संविधान सभा सदस्यको रूपमा समेत काम गरेको अनुभव रहेकाले आफ्नो दाबी स्वाभाविक रहेको उनको भनाइ छ ।

यस्तै लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दल रहेको एमालेभित्र पनि संसदीय दलको नेता बन्न तीव्र रूपमा दौड अगाडि बढेको छ । यहाँ रुपन्देही २ ‘क’ बाट प्रदेश सांसद चुनिएका लीला गिरी मुख्य दाबेदार हुन् । यस्तै अन्य पात्रमा रुपन्देही २ ‘ख’ बाट निर्वाचित भोजप्रसाद श्रेष्ठ, यसअघि प्रदेशसभामा प्रमुख सचेतक रहेका रुपन्देही ५ ‘क’ का भूमिश्वर ढकाल पनि संसदीय दलको नेताको रूपमा लविङ्गमा छन् ।

यता माओवादीबाट जोगबहादुर महराको संसदीय दलको नेता निश्चित जस्तै छ । रोल्पा ‘क’ बाट निर्वाचित महरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा बसेर कामसमेत गरेका नेता हुन् ।

मुख्यमन्त्री बन्ने प्रयाससहित गुल्मीबाट चुनाव लडेका माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल पराजित भएपछि महरा निर्विकल्प जस्तै रहेका छन् ।

सत्ता गठबन्धनबाट मुख्यमन्त्री माओवादीको भाग परेमा पार्टीको स्थायी कमिटी सदस्यसमेत रहेका महरा मुख्यमन्त्री बन्नेछन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation