बाणगंगामा चौथो मेयर कप सुरु : वडा नम्बर ६ को विजयी सुरुवात

कपिलवस्तु । बाणगंगा नगरपालिकामा विहिवार देखि चौथो मेयर कप फुटवल प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता बाणगंगा नगरपालिका–२ स्थित जनता मावि पिपराको खेल मैदानमा सुरु भएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चक्रपाणी अर्यालले खेल सीपका लागी स्थानीय स्तरमा संचालन हुने यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले शारिरीक तथा मानसिक स्वास्थ्यका लागी खेलकुदको आवश्यकता अपरिहार्य भएकाले यसमा बाणगंगा नगरपालिकाका प्रतिवद्ध भएर लागेको दाबी गरे । युवाहरुलाई खेलकुदप्रति आकर्षण गराउन र यस क्षेत्रमा टिकाई राख्न नगर प्रतिवद्ध रहेको उनले जिकीर गरे । उपप्रमुख रिता कुमारी चौधरीले खेलबाट नै देशको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा चिनाउन सकिने भएकाले यसको विकासमा सबै लाग्नुपर्ने बताईन् । उनले खेलकुद क्षेत्रको विस्तारका लागी आवश्यक लगानी गरि खेलाडीलाई प्रोत्सहित गर्न नगरपालिका तयार रहेको बताईन् । प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले यस्ता फुटबल खेल प्रतियोगिताले खेलका लागी आवश्यक पर्ने खेलाडी तयार गर्न मद्दम मिल्ने बताए ।

यसैबीच विहिबार भएको उद्घाटन खेलमा वडा नम्बर ६ ले जित निकालेको छ । वडा नम्बर ३ लाई हराउँदै वडा नम्बर ६ ले २–० गोल अन्तरले जित हात निकालेको हो । आज शुक्रबार दुई खेल हुने नगर खेलकुद विकास समितिका संयोजक पदम सेनले जानकारी दिए । उनका अनुसार पहिलो खेल वडा नम्बर ८ र ११ बीच हुने छ भने दोस्रो खेल वडा नम्बर ५ र १० बीच हुने छ । मेयर कपको उपाधि जित्नेले नगद रु. एक लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ भने द्धितीय हुनेले नगद रु.७५ हजारसहित मेडल र प्रमाण पत्र पाउने छ । यस्तै मेयर कपको सेमीफाईनलमा पुग्ने टिमले नगद रु.३०÷३० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । विहिवारदेखि सुरु भएको उक्त प्रतियोगिता चैत्र १ गतेसम्म चल्ने छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation