जाजरकोटमा चिसोले थप तीनको मृत्यु

जाजरकोट । चिसोका कारण जाजरकोटमा तीनजना वृद्धवृद्धाको ज्यान गएको छ।

भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो।

दमका दीर्घरोगी डुमेको त्रिपालको बसाइ र अत्यधिक चिसोले गर्दा ज्यान गएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए। मनसरी दमकी दीर्घरोगी भएको र त्रिपालको चिसोले दम बढेपछि उनको ज्यान गएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र थापाले बताए।​

त्रिपालमुनिको बसाइले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन्। बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वास सम्बन्धी समस्या देखिन थालेको छ। यसअघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चारजना दीर्घरोगीको ज्यान गएको थियो। एक साताभित्रै चिसोले सातजना वृद्धवृद्धाको ज्यान गएको छ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation