त्रिवेणी । रुकुमपश्चिममा जीप दुर्घनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ ।मृत्युहुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतिक बुढा छन् ।
बालक बुढाको उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यान जिल्लाको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहरी अस्पतालमै मृत्यु भएको चौरजहारी नगरपालिकाका नगरप्रमुख पुष्प वादीले जानकारी दिए।
जीप मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने गैरीजिउला सडकखण्डबाट भेरी नदीमा खसेको थियो । घाइतेको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ ।
जीपमा क्षमताभन्दा बढी सवारी चढाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले आँकलन गरेको छ । यसबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।