भूकम्प पिडितहरुका लागि भारतीय राजदुतावासद्वारा औषधि सहयाेग

नेपालगन्ज । जाजरकोट र रुकुमपश्चिम लगायत पश्चिम नेपालका भूकम्प प्रभावित जिल्लाहरुका लागि भारत सरकारले चौंथो खेपमा एक ट्रक अतिआवश्यक औषधि सहयोग पठाएको छ । भारतबाट स्थलमार्ग हुँदै नेपालगन्जसम्म ल्याईएको सो औषधि मंगलवार भारतीय राजदुतावासका द्धितिय सचिव आशिष सिन्हाले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई हस्तान्तरण गर्नुभयो ।

औषधि हस्तान्तरण गर्दै भारतीय राजदुतावासका द्धितिय सचिव सिन्हाले भारतले यसअघि पनि भारतीय वायु सेनाको विमानमार्फत तीन खेप अतिआवश्यक राहात सामाग्री नेपालगन्ज पुरयाईसकेको जनाउँदै अहिले औषधिको आवश्यकता महसुस गरेर एक ट्रक औषधि प्रदान गरिएको बताउनुभयो । उहाँले भारत सरकारले भविष्यमा पनि थप सहयोग जारी राख्ने जनाउँदै प्रभावित जिल्लाको आवश्यकता अनुसार सहयोग आउने बताउनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले भारत सरकारले ४० प्रकारको १३३ कार्टुन अतिआवश्यक औषधि पठाएको जनाउँदै औषधिलाई प्रभावित जिल्लाहरुबाट आएको माग अनुसार तत्काल पठाउन सुरु गर्ने बताउनुभयो । उहाँले प्रभावित जिल्लाहरुमा अहिले विभिन्न औषधि आवश्यक रहेको जानकारी आएकोले ती जिल्लाहरुमा माग बमोजिमको औषधि पठाउने बताउनुभयो ।

भारत सरकारले पठाएको एक ट्रक औषधि चार हजार ५२६ किलो रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो । उहाँले यसअघि भारत सरकारले तीन खेपमा गरेर ठुलो टेन्ट १०८ पिस, टेन्टको फिटिंग ६१ पिस, सानो टेन्ट १२५ पिस, सो टेन्टको फिटिंग ६० पिस, तारपोलियन त्रिपाल ६२५ पिस, स्लिपिंग व्याग पाँच हजार १२ पिस र कम्बल पाँच हजार ३० पिस पठाईसकेको बताउनुभयो । ती सबै राहात सामग्रीलाई तत्कालनै जाजरकोट र पश्चिम रुकुम पठाईएको पनि उहाँले जनाउनुभयो ।

औषधि हस्तान्तरणका अवसरमा बाँकेका प्रहरी प्रमुख सुवासचन्द्र बोहोरा, जिल्ला आपतकालिन सञ्चालन केन्द्र बाँकेका सुचना अधिकृत रुपन ज्ञवाली र औषधी व्यवस्था कार्यालय नेपालगन्जका कर्मचारीहरुको पनि उपस्थिति थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation