१४ औँ कपिलवस्तु महोत्सवः रेस्लिङमा ‘डेथ म्याच’ पनि (हेर्नुहोस् तालिका)

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकाको बुद्ध रंगशालामा पहिलोपटक हुन लागेको रेस्लिङको यतिखेर सर्वत्र चर्चा छ । वाणगंगा वेलफेयर सोसाइटीले मंसिर २१ गतेदेखि सुरु गर्न लागेको १४ औँ कपिलवस्तु महोत्सवमा पश्चिम नेपालमै पहिलोपटक रेस्लिङ प्रतियोगिता हुन लागेको हो ।

मंसिर २२ र २३ गते रेस्लिङको भीडन्त हुँदैछ । अहिले आयोजक र रेस्लिङतर्फका दुवै टोलीले तयारी गरिरहेका छन् ।

मनोरञ्जन विधातर्फ संसारभर नै चर्चित मानिएको रेस्लिङ आफैमा चुनौतिपूर्ण र साहसी खेल हो । त्यहि चर्चित खेल पहिलोपटक आफूहरुले ल्याउन पाउँदा आयोजक हर्षित छ भने पश्चिम नेपालतर्फ प्रतियोगिता देखाउन पाएकोमा रेस्लिङ कार्यक्रमकी संयोजक मुना श्रेष्ठ (ड्यागन लेडी) पनि उत्साहित छन् ।

प्रतियोगिता संचालनबारे सम्झ्यौता पत्रमा हस्ताक्षर पनि भइसकेको छ । प्रतियोगितामा नेपाल र भारतका खेलाडीको प्रतिस्पर्धा हुने छ । रेस्लिङको रिङ बनाउने स्थान पनि तय भइसकेको छ । उद्घाटनको दिनसम्म रेस्लिङको रिङ तयार भइसक्ने छ भने फाइटअघि रेस्लरहरुले मार्च पास पनि गर्नेछन् । रेफ्रीसहित २० जनाको टोलीमा भारतका ४ रेस्लरहरुको पनि सहभागिता हुने बताइएको छ । यो प्रतियोगितापछि जिल्लामा यस खेलप्रति रुची राख्नेलाई अगाडी बढ्न सहयोग हुने आयोजकको अपेक्षा छ ।

यस्तो छ खेल तालिका

दुईदिनमा ३ घण्टाका दरले ६  ७ घण्टा खेल हुनेछ भने ६ वटा फाइट दर्शकले देख्न पाउने छन् । त्यस अन्तर्गत २२ गते शुक्रबार स्नेहाविरुद्ध मिन्नीको भीडन्त हुनेछ भने दोश्रो खेलमा दुईदुईजनाको फाइट हुनेछ । त्यसमा किङ कोब्रा र सउल सेडाइले जोन र ज्वालासंग फाइट गर्नेछन् । यस्तै सोही दिन नै ट्याग टिम म्याच हुनेछ ।

यस्तै दोश्रो दिन मंसिर २३ गते पनि ४ वटा फाइट हुनेछन् । त्यसमा नेपाल र भारतबीच भीडन्त हुनेछ । जसमा आरके दास र ज्वाला, अजिंगर, मारुती भारत र नेपालको प्रतिस्पर्धा हुनेछ । सोहि दिन नै किङ कोब्रा र सैनिटसंग सउल सेडाइको लडाई हुने संयोजक मुना श्रेष्ठले जानकारी दिइन् ।

२३ गते नै हार्ड कोर्ट म्याच पनि हुनेछ । जसमा बाबा बुई साइनाइट, फोर आरके दास र लेडी ड्रयागन (मुना श्रेष्ठ) ले हार्ड कोर म्याच खेल्नेछन् । रेस्लिङका विधा या प्रकारमध्ये हार्ड कोर डरलाग्दो र खतरनाक खेल हो । यसमा हार्डकोर, फायर म्याच र ब्लड म्याच छन् । यी तीनै खेल निकै कठिन हुने र ज्यानको बाजी राखेरै खेल्नुपर्ने हुन्छ । यसमा साङलाले हान्नेसम्मका जोखिमपूर्ण गतिविधि हुने गर्दछन् । त्यसैले यसलाई डेथ म्याच पनि भन्ने गरिन्छ । विश्वरभर हार्ड कोरलाई निकै रुचाउने गरेको पाइन्छ । ड्रयागन लेडी हार्ड कोरमा नेपालकोतर्फबाट बिभिन्न अन्र्तराष्ट्रिय बेल्ट ल्याउन सफल रेस्लर हुन् । उनी सामाजिक संजालमा भाइरल पनि छन् ।

यस्तै २३ गतेको खेलमा किङ रोर्व र ठागुको प्रतिस्पर्धा हुने श्रेष्ठको भनाई छ । संयोजक श्रेष्ठका अनुसार फाइटमा तलमाथि पनि पर्न सक्नेछ ।

प्रतियोगितालाई रोचक बनाउन आफूहरुले निकै मिहिनेत गरेकोले सबैलाई सहभागिताको लागि श्रेष्ठको आग्रह छ ।
यता महोत्सवका संयोजक तथा वेलफेयरका अध्यक्ष संयोजक राजकुमार खाँणले टिभीमा हेरिरहेको रेस्लिङ लाइभ हेर्ने मौका नगुमाउनको लागि सबैलाई अनुरोध गरे ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation