वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ

बुटवल। वचत रकम फिर्ता माग्दा नपाएपछि बचतकर्ताले मञ्जुश्री बहुउद्देश्यीय सहकारीको बुटवलस्थित शाखा कार्यालय घेराउ गरेका छन् । सहकारीले आइतबार तरलता अभावका कारण संस्थाको बुटवल शाखा काउन्टर सेवा बन्द गरेको सूचना जारी गरेको थियो । त्यसअघि नै वचतकर्ताले रकम फिर्ता माग्दै आएका थिए । तर शाखा कार्यालय नै बन्द गरेपछि रकम डुब्ने डरले वचतकर्ताहरु सोमबार कार्यालय घेराउ गर्न पुगेका हुन् । बुटवल उपमहानगरपालिका– ११ कालिकानगरमा रहेको शाखा कार्यालय घेराउमा करिब सय जनाबढी वचतकर्ता घेराउ गर्न पुगेका थिए ।

सहकारीका अध्यक्ष खिमराज भण्डारी काठमाडौंबाट शाखा कार्यालयमा आउने सूचना पाएपछि वचतकर्ताहरु घेराउ गर्न पुगेका हुन् । यसअघि पनि वचतकर्ताले वचत रकम फिर्ता माग्दा पाएका थिएनन् । बुटवल शाखाले चेक नसाटेपछि प्रधान कार्यालय भैरहवामा साट्न जाँदा पैसा दिन नमिल्ने भनेर फर्काएको बचतकर्ता पुनम जिसीले बताइन् । सहकारीका अध्यक्ष खिमराज भण्डारीले बचतकर्तालाई फिर्ता गर्नुपर्ने रकम २ करोड र कर्जा असुल गर्नुपर्ने ३ करोड रुपैयाँ रहेको बताए । कर्जा असली प्रक्रियामा रहेकाले केही समय बुटवल शाखा बन्द गर्नुपरेको बताए । उनले आफू गम्भीर विरामी भएकाले पनि सहकारीको व्यवस्थापन हेर्न नपाएको दावी गरेका छन् ।

कोरोना महमारीपछि आर्थिक क्षेत्रमा परेको असरका कारण लगानी गरिएको कर्जा समयमा असुली नहुँदा तरलता अभाव बढ्दै गएको र कतिपय सदस्यले बचत गरेको रकम अवधि नपुग्दै माग गरेकाले फिर्ता दिंदा तरलता अभाव झनै बढेको उनको भनाइ छ । वचतकर्ताले शाखा कार्यालय र अध्यक्ष भण्डारीलाई घेराउ गरेपछि दुबै पक्षलाई राखेर छलफल गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले बताए । सहकारीका कति वचतकर्ताको रकम फिर्ता गर्न बांकी छ भन्ने बारेमा विस्तृत विवरण संकलन गर्न बांकी रहेको प्रहरीको भनाई छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation