एमाले रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे

बुटवल । नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीको १० औं अधिवेशनबाट यज्ञ गैरे सर्वसम्मत अध्यक्ष चयन भएका छन् । यद्यपि यसको औपचारिक घोषणा हुन भने बाँकी छ । नेताहरुबीच बिहीबार नै गैरेलाई अध्यक्ष बनाउने गरी समझदारी जुटेको थियो । समझदारी जुटेपछि बिहीबार राति अध्यक्षका अर्का उम्मेदवार तेजेन्द्र केसीले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।

गैरेको अध्यक्षतामा सर्वसम्मत पदाधिकारी चयन गर्ने विषयमा नेताहरुबीच सहमति जुटेपनि राति अवेरसम्म केसी र अर्का प्रत्यासी खेम लुईंटेलले अध्यक्षको दावी कायमै राखेका थिए । अधिवेशनबाट उपाध्यक्षमा हितराज पन्थी र सचिव पदमा चित्रबहादुर कार्की, उपसचिवमा बाबुराम पन्थी र महिलातर्फको उप सचिवमा सुनिता ठठेर पनि सर्वसम्मत भएका छन् ।

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, पद्मा अर्यालसहितका नेताहरुले बुधबार राती नै यो विषयमा छलफल गरी सहमति गरेका थिए । पौडेलले बिहीबार बिहानै काठमाण्डौं गएपनि यहाँ रहेका नेताहरुले समझदारी सुनाएका थिए ।

अन्य पदहरुमा पनि सर्वसम्मतको प्रयास जारी रहेकाले शुक्रबार मात्रै औपचारिक घोषणा हुने गरी तयारी गरिएको छ । सदस्य पदका लागि सुद्धोधन गाउँपालिका, सियारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, रोहिणी गाउँपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकाबाट सर्वसहमतिमा चयन भएका छन् भने अन्य पालिकाहरुमा पनि सहमतिको प्रयास जारी छ ।

जिल्लाका १६ वटा पालिका र १५५ वडा, २३ जनसंगठनबाट र आयोजक कमिटीबाट गरी ८५३ जना प्रतिनिधि चयन भइ अधिवेशनमा सहभागी भएका छन् । अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव, २ उपसचिव र १४५ सदस्य रहेको जिल्ला कमिटी निर्वाचित गर्ने एमाले रुपन्देहीले जनाएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation