नगर प्रमुख शर्माद्धारा डिप ट्युबेल शिलान्यासः किसानलाई राहत, बाह्र बिगाह पोखरी पर्यटन गन्तव्य बन्ने लक्ष्य

विमल गैरे, सैनामैना। सैनामैना नगरपालिका–४ अन्तर्गत बाह्र बिगाह पोखरी, लेडुवामा कृषकलाई लक्षित गर्दै डिप ट्युबेल निर्माण कार्यको शिलान्यास गरिएको छ। नगरपालिकाको अग्रसरतामा सुरु गरिएको यो योजना स्थानीय कृषकका लागि दीर्घकालीन सिंचाइ समाधानको रूपमा हेरिएको छ।

करिब ७०/८० बिगाह जमिनमा सिंचाइ सुविधा विस्तार गर्ने लक्ष्यसहित सुरु गरिएको परियोजनाले भूमिगत पानी रिचार्ज गर्न सहयोग पुर्‍याउनेछ भने बार्ह्र बिगाह पोखरीको सौन्दर्यकरणमा समेत महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

शिलान्यास कार्यक्रममा नगरप्रमुख फडेन्द्रप्रसाद शर्माले मेशिन पूजासहित औपचारिक रूपमा कामको शुभारम्भ गर्नुभयो। उहाँले भन्नुभयो, “यो डिप ट्युबेल परियोजना किसानमैत्री योजनाको रूपमा अघि बढाइएको हो। अब किसानहरूले वर्षभरि सिंचाइको अभाव झेल्नुपर्ने अवस्था अन्त्य हुनेछ। साथै बाह्र बिगाह पोखरीलाई हामीले कृषि मात्र होइन, नगरको पर्यटन सम्भावनासँग जोडेर हेरेका छौं। पानी व्यवस्थापनसँगै यसको सौन्दर्यकरण र पूर्वाधार विकास हुँदै जाँदा यो क्षेत्र आन्तरिक पर्यटनको आकर्षक गन्तव्य बन्ने विश्वास लिएका छौं।”

निर्माण कार्य शैलुङ्ग कन्स्ट्रक्सन, बुटवलले जिम्मा लिएको छ र आगामी वैशाख २० गतेसम्म पानी निकाल्ने तयारी रहेको जनाइएको छ। सम्पूर्ण परियोजना सम्पन्न गर्न करिब १ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

यस योजनाले अब किसानलाई वर्षभरि सिंचाइका लागि पर्याप्त पानीको पहुँच दिलाउनेछ, जसले उत्पादन वृद्धि र कृषि व्यवसायमा स्थायित्व ल्याउने विश्वास गरिएको छ। साथै, पोखरीको समग्र विकाससँगै सैनामैना नगरपालिकाको पर्यटन प्रवर्द्धनमा समेत नयाँ आयाम थपिने अपेक्षा गरिएको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation