तन सहरमा, मन गाउँ विकासमा : बुटवल–रामपुर जोड्दै सामाजिक अभियान

बुटवल। रुपन्देही-“जहाँ रहे पनि जन्मभूमिको माया र समुन्नतिका लागि योगदान गर्न सकिन्छ”- यही भावनालाई आत्मसात् गर्दै पूर्वी पाल्पा समाज रुपन्देही (बुटवल–रामपुर) ले आफ्नो चौथो साधारणसभा तथा दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ। बुटवलमा आयोजित अधिवेशन केवल नेतृत्व चयनमा सीमित रहेन, यसले सामाजिक उत्तरदायित्व, स्वास्थ्य सचेतना र गाउँ-सहर सहकार्यको नयाँ मार्गचित्रसमेत प्रस्तुत गर्‍यो।

समाज, सेवा र सहकार्यको साझा मञ्च
संस्थापक अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित पाल्पा क्षेत्र नं. १ का संघीय सांसद सन्दीप रानाले समाजले देखाएको सक्रियता र जन्मभूमिप्रतिको समर्पणको प्रशंसा गरे। उनले जहाँ रहे पनि आफ्नो ठाउँका लागि योगदान गर्नुपर्नेमा जोड दिँदै समाजसँग सहकार्य गर्न आफू सधैं तयार रहेको बताए।
त्यस्तै मणिमुकुन्द सेन उद्यानका अध्यक्ष माधव नेपालले सामाजिक काममा निरन्तर सक्रिय रहने संस्थालाई राज्यले पनि प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याए। कार्यक्रममा हिलपार्क परिषदका अध्यक्ष टंक पराजुली, बुटवल वडा नं. ८ का अध्यक्ष यज्ञ पंगेनी र समाजसेवी कृष्ण पाण्डेले शुभकामना मन्तव्य व्यक्त गरे।

ज्ञान, स्वास्थ्य र क्षमता विकासमा जोड
अधिवेशनका अवसरमा वरिष्ठ फिजिसियन डा.पुष्पराज जोशीले स्वास्थ्य सचेतनासम्बन्धी प्रशिक्षण दिएका थिए भने लुम्बिनी वाणिज्य क्याम्पसका सहप्राध्यापक रोमनाथ शर्माले क्षमता अभिवृद्धि विषयमा सहजीकरण गरे।
निर्वाचन समितिका संयोजक दामोदर घिमिरे सहित अनन्त सिलवाल र सर्मिला बास्तोलाले नव निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र प्रदान गरे।

छोरी शिक्षाअक्षयकोषदेखि एम्बुलेन्ससम्म
समाजले स्थापना गरेको छोरी शिक्षा अक्षयकोष, गरिब जेहेन्दार विद्यार्थी अक्षयकोष र विपद् व्यवस्थापन अक्षयकोष*ले यसको सामाजिक दृष्टिकोण प्रस्ट पार्छ। छोरी शिक्षा अक्षयकोषमा हालसम्म १० लाख रुपैयाँ संकलन भइसकेको छ।
यसका साथै, सबै सदस्यको एक लाख रुपैयाँ बराबरको बीमा गरिएको छ भने आगामी दिनमा एम्बुलेन्स सेवा सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ। यसका लागि रोटरी क्लबसँग सहकार्य गरिने जनाइएको छ।

`प्रगतिको आधार: बुटवल–रामपुर कारोबार´
“तन सहरमा, मन गाउँ विकासमा” भन्ने भावनालाई मूर्तरूप दिन समाजले “प्रगतिको आधार: बुटवल–रामपुर कारोबार” अभियान सञ्चालन गर्ने भएको छ। यस अभियानमार्फत गाउँका उत्पादन सहरमा र सहरको पूँजी गाउँमा प्रवाह गर्ने लक्ष्य लिइएको संस्थापक अध्यक्ष श्रेष्ठले बताए ।
साथै “रुपन्देही हाम्रो पहिचान, समृद्ध रामपुर पाल्पा हाम्रो अभियान” नारासहित विकासका आधार तय गर्दै जनप्रतिनिधिसँग सहकार्य गर्ने योजना पनि अघि सारिएको छ। कार्यक्रममा प्रदेशसभा सदस्य तथा संसदीय समिति सभापति राजु श्रेष्ठ, नगर प्रमुख रमणबहादुर थापा, रोटरी क्लब अफ रामपुरका कृतनाथ श्रेष्ठ तथा उद्योग वाणिज्य संघ रामपुरका अध्यक्ष भोजेन्द्र ढकाललगायतको सहभागिता रहेको थियो।
संस्कृति जोगाउँदै पहिचान संरक्षण
सांस्कृतिक पहिचानलाई जोगाउन “रामपुर सांगीतिक साँझ” कार्यक्रम आयोजना गरिएको थियो, जसले गाउँ–सहरबीच भावनात्मक सम्बन्ध अझ प्रगाढ बनाएको सहभागीहरूले बताए।

नयाँ नेतृत्व, नयाँ ऊर्जा
अधिवेशनले वृन्दादेवी भट्टराई आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
उपाध्यक्षमा हरिहर भण्डारी, महिला उपाध्यक्षमा मञ्जु बास्तोला, महासचिवमा गणेश सेढाई, उपमहासचिवमा देवराज खनाल, सचिवमा ध्रुब कंडेल, कोषाध्यक्षमा लक्ष्मीदेवी अर्याल र सहकोषाध्यक्षमा खुमबहादुर राना चयन भएका छन्। सदस्यहरूमा लक्ष्मण कंडेल, मञ्जुश्री नेपाली, पिताम्वर राना, दामोदर घिमिरे, बाबुराम भण्डारी र गीता पराजुली पाठक रहेका छन्।

नवनिर्वाचित कार्यसमितिले संस्थापक अध्यक्ष सुनिल श्रेष्ठ तथा सल्लाहकारहरुलाई सम्मान गर्दै संस्थाको योगदानको कदर गर्दै सम्मान गरेको थियो।

छोटो इतिहास, ठूलो लक्ष्य
वि.सं. २०८० साल मंसिर ४ गते स्थापना भएको यस समाजमा हाल १२५ जना सदस्य आबद्ध छन्। पूर्वी पाल्पाका पाँच पालिकाबाट रुपन्देहीमा आएर बसोबास तथा व्यवसाय गरिरहेका व्यक्तिहरूलाई एकताबद्ध गर्दै समाजले सामाजिक, शैक्षिक र आर्थिक क्षेत्रमा उल्लेखनीय पहल गर्दै आएको छ।
पूर्वी पाल्पा समाज रुपन्देहीको यो अधिवेशनले केवल नेतृत्व परिवर्तन मात्र होइन, गाउँ र सहरबीचको सम्बन्धलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा सुदृढ गर्ने स्पष्ट दृष्टि प्रस्तुत गरेको छ। `तन सहरमा, मन गाउँ विकासमा´ भन्ने सन्देशलाई व्यवहारमा उतार्दै समाज अब अझ व्यापक र प्रभावकारी भूमिकामा अघि बढ्ने संकेत देखिएको छ।समाजले पूर्वी पाल्पाका जनप्रतिनिधि मात्रै होइन रुपन्देहीका विभिन्न पालिकाका जनप्रतिनिधिहरुसंग पनि अन्तरक्रिया र सुझाव संकलन गरेको छ । प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रा अर्याललगायतसंग विभिन्न समयमा अन्तरक्रिया गर्नुका साथै सुझाव संकलन गरेको थियो । यस्ता कार्यक्रमलाई निरन्तरता दिइने समाजका नवनिर्वाचित अध्यक्ष आचार्यले बताइन् ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation