विमल गैरे, सैनामैना ।
रुपन्देहीको सैनामैना १ कासिपुरमा खेतबाटै खरबुजा र अम्वाका विरुवा चोरी भएको छ । ‘लुम्बिनि गौतमबुद्ध एग्रो फर्म’ प्रा लि.’ का संचालक कृष्ण बन्जाडेले आफ्नो फर्मबाट विरुवा तथा खरवुजा चोरी भएको जनाएका छन् ।
गत २८ गते राती अम्माका लगाएको र पलान्टेसन गरेको करीव २३ ओटा विरुवा र करिव १५ देखि २० क्वीन्टल खरवुजा चोरी भएको फर्मका सञ्चालनक वन्जाडेले उपकार अनलाईलाई बताए । फर्ममा यसरी लगाएका विरुवा तथा बजारमा बिक्रिका लागि तयार भएका खरवुजा चोरी भए पछि बन्जाडेले प्रहरीमा जानकारी तथा किटानी जाहेर गर्दा समेत प्रहरी प्रशासनले यस प्रति चांसो नदेखाएको र अझै चोर पत्ता लगाउन नसकेको उनी बताउछन ।
बन्जाडेले सैनामैना नगरपालिकाका नगर प्रमुखलाई समेत पटक पटक गुनासो गर्दा कुनै सुनुवाई नगरेकोे र जनताको जनप्रतिनिधि भएर पनि जनताको समस्या नबुझेकोमा दुख व्यक्र गरे । स्थानिय सरकारको प्रमुख भइसकेपछि घटना स्थलमा पुग्नु, कृषकलाई सहयोग तथा चोरी नियन्त्रणको पहल गर्नु जनप्रतिनिधिको दायित्व हो तर नगर प्रमुखलेनै यस प्रति कुनै चासो नदेखाएको उनको आरोप छ । वडा तथा नगरनै आफुहरुको पक्षमा नरहेको समेत दावी गरे ।
कृषिमा केहि गरौं भन्ने उद्धेश्यले २०७५ सालमा गौतमबुद्ध एग्रो फर्म’ प्रा लि.’ दर्ता गरेर ६ बिगाहामा क्षेत्रफलमा कुखुरा पालन, तरकारी र फलफुल खेती गर्दै आएका बन्जाडे अहिले चोरीको मारमा परेका छन् । करिव १ करोड बराबरको लगानीमा सञ्चालन आएको फर्म चोरीको घटना पछि प्रहरी प्रशासन र स्थानिय सरकार मौन हुदा लगानी डुब्ने चिन्तामा छन् । सुनसान गाँउमा रातको समयमा चोरी हुने भएकाले चोर पत्ता लाग्न पनि सकेको छैन भने फर्ममा काम गर्ने कामदारहरु त्यहि बस्ने हुदा उनीहरु समेत असुरक्षित भएको बन्जाडेले उपकार अनलाईलाई बताए ।