विमल गैरे, सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सैनामैना नगरपालिकाको १३औँ नगर सभाले २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
सैनामैनाको समृद्धिको आधार उत्पादन, पर्यटन र पूर्वाधार भन्ने नारालाई साकार पार्नका लागि विविध नीति तथा कार्यक्रमहरू विहिवार सैनामैना २ ग्लोवल पार्टी प्यालेसमा सार्वजनिक गरिएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले सैनामैना नगरपालिकामा बसोबास गरिरहेका अशक्त भएका व्यक्ति, ७० वर्ष माथिका ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला, अति गरिव तथा विपन्न व्यक्तिहरुलाई स्वास्थ्य सेवा लिनको लागि नगर भित्र र रुपन्देही जिल्ला भित्रका अन्य स्वास्थ्य संस्थामा जानुपर्ने भएमा निशुल्क एम्वुलेन्स सेवालाई निरन्तरता दिइने जानकारी गराउनुभयो ।
“कोख देखि शोकसम्म नगर सरकार” भन्ने नीतिलाई अवलम्वन गर्दै घरमै सुत्केरी हुने दरलाई कम गरी मातृ तथा शिशु मृत्युदर कम गर्न स्वास्थ्य संस्थामा सुत्केरी हुनलाई प्रोत्साहन तथा सुत्केरी र नवजात शिशुको पोषण तथा सरसफाई प्रवर्द्धन कार्यक्रमलाई नीति तथा कार्यक्रममा समाबेश गरएिको छ ।
प्रत्येक वडामा महिनाको एक पटक किसानसंग प्राविधिक घुम्ती कार्यक्रम, नगर भित्र निर्माण हुने क र ख बर्गका भवन र १५ धुर माथि क्षेत्रफलमा बन्ने सबै बर्गका भवनहरुमा बर्षादको पानी सोझै ढल वा नालीमा नमिसाई पुनर्भरण पठाउने व्यवस्था, शहरी सौन्दर्य र हराभरा नगर बनाउन एक घर दुई विरुवाको अवधारणालाई निरन्तरता दिईने उहाको भनाइ छ । नगर भित्रका मुख्य सडकहरु मुर्गिया–लुम्बिनी सडक, कलौनी–लुम्बिनी सडक, सैनामैना चक्रपथ, सैनामैना मेजर सडक, सालझण्डी–ढोरपाटन सडक, रानिवगिया–वोलवम सडकजस्ता ठूला तथा महत्वपुर्ण सडकहरुमा वातावरणीय सुन्दरताका निम्ति सुगन्धित सदावहार फुल्ने विरुवा रोपी ग्रीनबेल्ट निर्माण गर्ने, शहरी सौन्दर्यता समेत अभिवृद्धि गर्न स्मार्ट सडक वत्ती जडान गर्ने, एक वडा एक पोखरी निर्माण गर्ने, ऐतिहासिक महत्वका कुवाहरुको संरक्षण तथा पोखरीको समेत विस्तार गर्दै सिंचाईलाई समेत टेवा पुग्ने गरी पर्यटकीय प्रवर्धन गरिने र ठुला पोखरीमा फिसिङ् स्टेसन राखिने व्यवस्था मिलाईने नगर प्रमुखले जानकारी गराए ।