कपिलवस्तुको शुद्धोदन गाउँपालिका,यशोधरा गाउँपालिका तथा रुपन्देहीको सम्मरीमाई, रोहिणी,कोटहीमाइ गाउँपालिकाले बजेट ल्याएका छैनन् । यस्तै, रोल्पाको गंगादेव गाउँपालिकाले पनि अझैसम्म बजेट ल्याउन सकेको छैन ।
यसरी बजेट ल्याउन नसक्नुमा धेरै ठाउँमा वडाध्यक्ष र गाउँपालिका अध्यक्षबीच बजेटमा विवाद देखिएको छ । केही आन्तरिक कारण पनि देखिएका छन् । कपिलवस्तुको शुद्धोदन गाउँपालिकामा वडाध्यक्षर गाउँपालिका अध्यक्षबीच कुरा नमिल्दा बजेट पास नभएको अवस्थामा छ ।
गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी लोसपा हुन् भने बहुमत वडाध्यक्षहरू नेपाली काँग्रेसका छन् । यो गाउँपालिकाका वडाध्यक्षहरू आफ्नो सिलिङअनुसार बजेट नदिएको भन्दै नीति तथा कार्यक्रम पास गर्न नदिएको गाउँपालिका अध्यक्ष कमलेश चौधरीले रातोपाटीलाई बताए । उनले आफूले मिलाउने प्रयास गरिरहेका छन् ।
कपिलवस्तुको यशोधरा गाउँपालिकाले नीति तथा कार्यक्रम पारित गरे पनि आन्तरिक विवादका कारणले बजेट ल्याउन सकस परेको छ ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका वडाध्यक्षहरूले धेरै बजेट माग्ने र अध्यक्षले मिलाउने प्रयास नगर्दा बजेट ल्याउन समय लाग्ने देखिएको छ ।
उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराईले गाउँपालिका अध्यक्षले र वडाध्यक्षबीच समन्वय हुन नसक्दा गाउँसभा हुन नसकेको बताए । वडाध्यक्षर गाउँपालिका अध्यक्षबीच बजेट विषयमा कुरा नमिल्दा रुपन्देहीका रोहिणी गाउँपालिका र कोटहीमाई गाउँपालिकाले पनि बजेट ल्याउन सकेका छैनन् ।
बजेट नल्याएका गाउँपालिका अध्यक्ष र वडाध्यक्षबीच मतभेद हटाएर बजेट ल्याउने आग्रह गरेको जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइले बताए ।
रोल्पाको गंगादेव गाउँपालिकामा नीति तथा कार्यक्रम पारित भए पनि अझैसम्म बजेट ल्याएको छैन । गाउँपालिकाकी उपाध्यक्ष अमृता कुमारी केसीले बजेटमा शीर्षकहरू परिवर्तन गर्नुपर्ने भएकाले ढिलो भएको भन्दै अव दुई, तीन दिनमै बजेट ल्याउने बताइन् ।