सङ्घर्ष समितिको माग प्रति ऐक्यबद्धता जनाउँदै कर्मचारीद्वारा सरकारलाई ज्ञापनपत्र

प्युठान। माण्डवी गाउँपालिकाका कर्मचारीले बिहिबार स्थानीय तह कर्मचारीको केन्द्रीय सङ्घर्ष समितिको मागलाई ऐक्यबद्धता जनाउदै सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।केन्द्रीय सङ्घर्ष समितिको कार्यतालिका बमोजिम कालोपट्टी बाँधेर शान्तिपुर्ण विरोध गरेका कर्मचारीहरुले दिउँसो २:३० वजे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे मार्फत संघिय सरकारलाई ज्ञापनपत्र बुझाएका हुन् ।

सरकारले माग सुनुवाइ नगरे शुक्रबार देखि सम्पूर्ण स्थानीय तहको काम/काज ठप्प पार्ने केन्द्रीय सङ्घर्ष समितिको तयारी छ। सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकमा आफूहरूलाई नसमेटेको विरोधमा केन्द्रीय सङ्घर्ष समितिले तीन दिन देखि उपत्यका केन्द्रित शान्तिपूर्ण आन्दोलन जारी राखेको छ।ज्ञापनपत्रमा ऐन विहीन अवस्थामा रहेका स्थानीय तहका कर्मचारीको माग सम्बोधन हुने गरी एकीकृत संघीय निजामती ऐन ल्याउनु पर्ने माग राखिएको छ।

यस्तै निजामतीको परिभाषा भित्र स्थानीय कर्मचारीलाई पनि समेटिनु पर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनु पर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनु पर्ने, अन्तर प्रदेश सरुवाको व्यवस्था ऐन मै राखिनु पर्ने लगाएतका माग राखिएको छ।

सबै स्थानीय तहमा वैज्ञानिक पूर्वानुमान योग्य चक्रिय प्रणालीमा सरुवा गरिनु पर्ने, जुन सुकै तहमा बहालवाला कर्मचारीको सेवा अवधि जोडिनु पर्ने, स्थानीय सेवाका कर्मचारीको सेवाको सुरक्षा हुनु पर्ने, समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन हुनु पर्ने,अस्थायी,करार र ज्यालादारीका कर्मचारीहरुलाई समेत आन्तरिक प्रतिस्पर्धा मार्फत स्थायी गरिनु पर्ने लगायतका मागहरु पनि आफुहरुले राखेको सङ्घर्ष समितिका नेता बलराम पौडेलले उपकार अनलाइनलाई बताउनु भयो।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation