
कपिलवस्तु । पछिल्लो समय बाणगंगा सहित आसपासका क्षेत्रमा मोटरसाईकल, मोबाईल, गरगहना लगायतका सामान चोरी गर्ने र लागु औषध ओसार पसार गर्ने गिरोहलाई पिपरा प्रहरीले पक्राउ गरेको छ । अनलाईन पढ्ने बहानामा बन्टी गाहा मगर भन्ने डम्बर बहादुर थापाको घरमा अडड बनाएर धन्दा चलाउदै आएका चोरहरुको अखडामा प्रहरीले छापा मारेर गिरोहलाई नै पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल रायमाझीले बताउनुभयो ।
पक्राउ पर्नेमा कपलिवस्तुको बाणगंगा नगरपालकिा वडा नम्बर २ गोबडिया बस्ने २८ वर्षीय विनोद परियार, सोहि ठाउँकै ३३ वर्षीय बिष्णु श्रेष्ठ, नवलपरासी देवचुली नगरपालिका वडा नम्बर २ बस्ने २३ वर्षीय मुक्ती प्रसाद खनाल, कपिलवस्तु बुद्धभुमी नगरपालिका वडा नम्बर २ का २६ वर्षीय विबेक थापा मगर, रुपन्देही सैनामैना नगरपालिका वडा नम्बर १२ का १८ वर्षीय मनोज दर्जी, सोहि ठाउँकै १८ वर्षीय समिर परियार रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
उनिहरुको साथबाट लु ३६ प १९३९ नं.को रातो कालो रङको पल्सर मोटरसाईकल, लु ३९ प ८२८२ नं.को होण्डा साईन मोटरसाईकल फेला परेका छन । त्यस्तै विभिन्न दरका नोट तथा सिक्का (डवल) गरी ३ लाख ४९ हजार २५५ नेपाली रुपैँया समेत बरामद गरिएको पिपरा प्रहरीले जनाएकोछ ।
त्यस्तै उनीहरुको साथ बाट सुनका गरगहना सिक्री १ थान, माईली तिलहरी लाहा सहितको १ थान, लाहा सहितको घण्टी माला १ थान, छापे पत्थर सहितको पँहेलो औठी १ थान, चाँदीका गरगहना तर्फ को फोल्डिङ बाला १ थान, लेडिज पाउजु एक जोडी फेला पारिएकोछ । त्यस्तै अन्य वारेन्टिवाला गरगहना समेत फेला परेका छन ।
त्यस्तै एउटामा ५ सिक्का र अर्कोमा ३ सिक्का भएको तक्मा मेडल २ थान, लेडिज पर्स ३ थान, लाईट २ थान, व्याट्री १ थान, कालो जेन्स पर्स १ थान, क्यानन डिजिटल क्यामेरा १ थान, चक्कु, खोडा लगायतका हातहतियार लगायत अन्य विभिन्न सामाग्री फेला पारेको प्रहरीले जनाएको छ ।