नेपालगञ्ज नाकाबाट करिब २४ हजार महिला तथा बालबालिकाहरूको उद्धार

बाँके  । नेपालगञ्ज नाकाबाट भारत तथा तेस्रो मुलुकमा जान लागेका  करिब २४ हजार महिला तथा बालबालिकाहरूको उद्धार गरिएको छ ।

मानव बेचबिखनविरुद्ध कार्यरत माइती नेपाल नेपालगन्जले आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा दिइएको जानकारी अनुसार सन् २००२ देखि २०२३ सम्म जोखिमपूर्ण यात्रामा रहेका नौ हजार ७७ जनालाई सीमाबाट उद्धार गरिएको छ ।

यसैगरी, नौ हजार १८० जनालाई मानव बेचबिखन र सुरक्षित बसाइसराइबारे जानकारी दिई पारिवारिक पुनर्मिलन गराइएको माइती नेपाल नेपालगन्जका कार्यक्रम संयोजक केशव कोइरालाले जानकारी दिनुभयो ।

कोइरालाले भन्नुभयो, ‘‘पछिल्लो समय सामाजिक सञ्जाल, इन्टरनेट र मोबाइलको प्रयोग गरी महिला तथा बालिकालाई भारत तथा तेस्रो मुलुक पठाउने गरेको पाइएको छ ।’’

माइती नेपालले भारतका विभिन्न सहरमा माइती इन्डिया लगायत भारतीय सरकारी र गैरसरकारी संस्थाहरूको सहकार्यमा जोखिममा रहेका महिलाको उद्धार गर्ने गरेको छ । प्रभावकारी संयन्त्रको अभावमा खाडीबाट यसरी उद्धार गर्न नसकिएको माइती नेपालले जनाएको छ ।

माइती नेपालले २१ वर्षको अवधिमा श्रम तथा यौन शोषणमा परेका ३७७ जनाको उद्धार गरेको जनाएको छ । सो अवधिमा पाँच हजार २२९ जनालाई नाकाबाट परामर्श दिई घर फिर्ता गरिएको छ ।

माइती नेपालको तथ्याङ्क अनुसार सन २००२ यता आठ हजार २३४ जनाको खोजतलासका निवेदन परेकोमा एक हजार ९१६ जना मात्रै फेला परेका छन् ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation