
कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिकाको १४ औँ नगरसभा सम्पन्न भएको छ । विभिन्न महत्वपुर्ण निर्णय गर्दै बुधवार नगरको सभाहलमा नगरसभा सम्पन्न भएको हो ।
नगरसभाले वन विधेयक ‘२०८०’, र बाणगङ्गा नगर प्रज्ञा प्रतिष्ठान गठन तथा सञ्चालन विधेयक ‘२०८०’ सर्वसम्मतले पारित गरेको छ ।
त्यस्तै नगर उप–प्रमुख रिता कुमारी चौधरीले टेबुल गरेको खानेपानी, सरसफाइ तथा स्वच्छता ऐन २०७८ लाई संशोधन गर्ने प्रस्ताव र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन २०८० मा संशोधन प्रस्ताव समेत नगरसभाले पारित गरेको नगर प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेले बताउनुभयो ।
त्यस्तै वडाध्यक्ष विष्णु प्रसाद पौडेलले सार्वजनिक महत्वको प्रस्ताव गरेकोमा सो प्रस्ताव समेत सर्वसम्मत पारित भएको छ ।
यसैबिच नगरप्रमुख चक्रपाणी अर्यालले प्रगति विवरण प्रस्तुत गर्दै आर्थिक बर्ष २०८०/०८१ को कुल बजेटको हालसम्म पूँजीगत तर्फ १५ प्रतिशत र प्रशासनतर्फ ३० प्रतिशत खर्च भएको जानकारी दिए ।
नगर प्रमुख चक्रपाणी अर्यालले आर्थिक ऐन, विनियोजन ऐन र चालु आर्थिक वर्ष २०८०।८१ का योजना तथा कार्यक्रम संशोधन र अत्यावश्यक योजनाहरुको बजेट विनियोजनमा उठेका पश्नहरुको सम्बोधन गर्दै नगरसभा सम्पन्न गरिएको थियो ।
नगरप्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा सम्पन्न उक्त नगरसभामा उपप्रमुख रिताकुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, ११ वटै वडाका वडाध्यक्ष, कार्यापालिका सदस्य, कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।