कपिलवस्तु । नगरको विकास र स्थानीयका समस्यामा नगरपालिका गम्भीर बन्न नसकेको बाणगंगाका स्थानीयहरुले बताएका छन । आइतबार कपिलवस्तुको बाणगङ्गा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा समस्याहरु छरपस्ट भएपनि नगरपालिका र सम्बन्धित निकाय भने मौन रहेको भन्दै गम्भिर बन्नुपर्नेमा जोड दिएका छन ।
यता बाणगङ्गा नगरपालिकामा छाडा पशुचौपायाको दिर्घकालिन व्यवस्थापन, फोहोरमैला उचित व्यवस्थापन, यातायात अन्तर्गत अटो भाडाको दर कायम गर्नुपर्ने, नगर बस सञ्चालन गर्नुपर्ने, नदिजन्य पदार्थ अवैध उत्खनन रोक्नुपर्ने, कृषकको लागि आवश्यक मल, बीउबिजन लगायतका कृषि सामाग्रिको पहुँच समयमै विस्तार गर्नुपर्ने, चारनम्बर चोकमा सार्वजनिक शौचालय राख्नुपर्ने, तीनै तहका सरकारबाट आएका विकास निर्माण सम्बन्धी योजनालाई समयमै सम्पन्न गर्नुपर्ने लगायतका माग स्थानियले राखेको छन । त्यस्तै छोटो समयमै नगर प्रमुख प्रशासकिय अधिकृतको सरुवाले धेरै विकास निर्माणका कामले गति लिन नसकेको भन्दै यस विषयमा पनि गम्भिर हुन नगरवासीले माग गरेका छन ।
प्रश्नहरुको जवाफ दिदै कार्यक्रमका अध्यक्ष तथा मेयर चक्रपाणी अर्यालले जनताकै मतबाट आफुहरु चुनिएको भन्दै नगरको चौतर्फी विकास र नगरवासीका समस्या प्रति नगर गम्भिर रहेको बताउनुभयो । नगर सहित समग्र जिल्लाको प्रमुख समस्याको रुपमा रहेको छाडा पशुचौपाया व्यवस्थापनका लागि समिति गठन भएर अधिकांश छाडा चौपायालाई अहिले अल्पकालिन व्यवस्थापन गरेको भन्दै दिर्घकालिन व्यवस्थापनको लागि नगरपालिकाले विभिन्न योजना बनाइरहेको बताउनुभयो । विकास निर्माणका योजनालाई पनि समयमै सम्पन्न गर्नेगरि काम गर्नको लागि पनि नगरको टिम लागिपरको उहाँले स्पष्ट पार्नु भयो ।
त्यस्तै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै नगर प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले नगर बाट प्रदान हुने सेवा सुविधालाई चुस्त दुरुस्त र सहज बनाउने तर्फ आफुहरु गम्भिर रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा नगर प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेल, काङ्ग्रेस नगर सभापति विष्णु थापा, माओवादी केन्द्रबाट नारायण भुषाल, नेकपा एस बाट दिपक पन्थी, राप्रपा हरि घिमिरे लगायतले बोल्नुभएको थियो ।
भने कार्यक्रममा नगरका उपप्रमुख रिता कुमारी थारु,वडाअध्यक्षहरु, नगरका विभिन्न शाखाका प्रमुखहरु, नागरिक समाज, शिक्षक, टोल समितिका प्रमुख ,प्रतिनिधि, स्थानिय, बुद्धिजिवि पत्रकारहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष हरि अधिकारीले नागरिक प्रतिवेदन र कोषाध्यक्ष मोहन बेल्बासेले बहिरर्गमन प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने पत्रकार महासंघका पुर्व उपाध्यक्ष पार्वती पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रम बाणगङ्गा नगरपालिको आयोजना र नेपाल पत्रकार महासंघ कपिलवस्तुको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।