धर्मेन्द्र कुमार कुर्मी, कपिलवस्तु ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा ३ महिने आधारभूत कम्प्युटर तथा कम्प्युटर रिपेरिङ्ग एण्ड नेटवर्किङ्ग सम्बन्धी तालिमको उद्घाटन गरिएको छ । गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले बुधबार गाउँपालिकाको सभाहल खडैचामा उक्त कार्यक्रम उद्घाटन गरेकी हुन् । विजयनगर गाउँपालिकाको आयोजना र राइटस्टेप एजुकेशन एकेडेमी चन्द्रौटाको प्राविधिक सहयोगमा आधारभूत कम्प्युटर तथा कम्प्युटर रिपेरिङ्ग एण्ड नेटवर्किङ्ग तालिम सुरु भएको महिला तथा बालबालिका शाखा प्रमुख यमकला रेश्मीले जानकारी दिइन् ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले अहिलेको युग विज्ञान र प्रविधिको युग भएको बताउँदै सबैले अनिवार्य सिक्नुपर्ने बताइन् । हाल लगभग सबै व्याक्तिको हातमा मोबाइल फोन, ल्यापटप, कम्प्युटर हुने गरेको जिकिर गर्दै समयको माग र प्रविधिको उच्च विकासले मानिसले अहिलेको समयमा धेरै उन्नति गरि सकेको उनले बताइन् ।
उनले मानिसले सानादेखि लिएर ठुला–ठुला कारोबार र दैनिक कार्य सबै कम्प्युटरबाट गर्दै आइरहेको बताउँदै घर, कार्यालय र कलेज विद्यालयमा गर्ने धेरै कामहरू कम्प्युटरमा गरिने भएकोले कम्प्युटर शिक्षा आवश्यक रहेको बताइन् । उनले सहभागी सिकारुहरुलाई सक्रियता पुर्वक लागेर सिक्न अनुरोध समेत गरिन् ।
यसैगरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले मानिसको आवश्यकता बनेको कम्प्युटरले मानिसका हरेक कामलाई सहज बनाई दिएको बताए । उनले कुनै पनि कार्यालयमा जागिरको लागि आवेदन पनि यही कम्प्युटरका माध्यमबाट दिने गरिएको बताउँदै हरेक कार्यालयमा जागिरेका लागि कम्प्युटर शिक्षा अनिवार्य जस्तो भई सकेको बताए ।
उनले दैनिक जीवन होस् वा विभिन्न पेशागत जीवनलाई सहज र सक्रिय बनाउन कम्प्युटरको अपरिहार्यतालाई कसैले पनि नकार्न नसक्ने बताए । प्रविधिको प्रयोगबाट सेवामा सहज पहुँच, गुणस्तरमा बढोत्तरी, व्यवसायमा अभिवृद्धि हुन्छ । रिजालले कम्प्युटरको प्रयोगबाट सूचना संकलन गर्ने, प्रशोधन गर्ने, प्रयोग गर्ने, सञ्चार गर्ने र सुरक्षित सञ्चय गर्ने जस्ता महत्वपूर्ण कामहरु छिटोछरितो रुपमा सम्पन्न गर्न सहज भएको बताउँदै कम्प्युटर शिक्षा सबैलाई आवश्यक भएको बताए ।
यस्तै राइटस्टेप एजुकेशन एकेडेमी चन्द्रौटा सञ्चालक तथा प्रशिक्षक कृष्ण पौडेलले ३ महिने आधारभूत कम्प्युटर तथा कम्प्युटर रिपेरिङ्ग एण्ड नेटवर्किङ्ग तालिममा ४४ जना सिकारुहरु सहभागी भएको बताए । उनले वडा नम्बर ६ मा प्रेमनगर भटनीमा रहेको युवा क्लबको भवनमा कक्षा सञ्चालन गरिने बताए ।
यस्तै ५ का वडा अध्यक्ष अनवर मोहम्मद मुसलमानले सबैलाई कम्प्युटर सिक्न अनिवार्य भइसकेकाले हाम्रो दैनिक जीवनमा यसले सहजता ल्याउने बताए । कार्यक्रममा २ का वडा अध्यक्ष नेपाल चौधरी, ४ का कार्यबाहक वडा अध्यक्ष बदरु जमा र ७ का वडा अध्यक्ष दिनेश कुमार चौधरी लगायतको उपस्थिति थियोे ।