प्रथम तिलौराकोट गोल्डकपको उपाधी बीएफसी चितवनलाई

बाणगंगा । विभागीय टोली नेपाल पुलिस क्लवलाई पराजित गर्दै हनामी बीएफसी चितवन प्रथम तिलौराकोट गोल्डकपको च्याम्पियन बनेको छ । कपिलवस्तुको बाणगंगास्थित बुद्ध रंगशालामा भएको शनिबारको उपाधी भीडन्तको निकै रोमाञ्चक खेलमा चितवनले पुलिसमाथि टाई ब्रेकरमा ४–३ गोल अन्तरको जित हासिल गरी च्याम्पियन बनेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइ ब्रेकरबाट भएको हो ।हनामीका लागि राम शाही, सुजित बुढाथोकी, सागर लामा र आशिष सुनामले गोल गरे। मनिष तामाङले भने गोल गर्न सकेनन्। पुलिसका शिशिर चौधरी, विवेक पाण्डे र अनुप लिम्बुले गोल गरे। पृथ्वी चौधरी र हेम तामाङले भने गोल गर्न सकेनन्। त्यसअघि खेलमा शुरूआती अग्रता भने पुलिसले लिएको थियो। पुलिसका सुजित भण्डारीले चौथो मिनेटमै पेनाल्टीमा गोल गरेका थिए। तर, त्यो अग्रता पुलिसले जोगाउन सकेन।

पहिलो हाफको अन्त्यतिर अनुप लिम्बुले गोल गर्दै हनामीलाई खेलमा फर्काए। खेलको म्यान अफ दी म्याच अनिल खड्का भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे। विजेता हनामीले ११ लाख ११ हजार १ सय ११ शिल्ड र प्रमाण पत्र प्राप्त गर्न सफल भयो भने उपविजेता पुलिसले ५ लाख ५५ हजार ५ सय ५५ हजार संगै ट्रफी, मेडल र प्रमाण पत्र हात पारेको थियो । हनामीले सेमिफाइनलमा सुदुरपश्चिम ११ माथि ३–० गोलको सानदार जित हासिल गरेको थियो भने पुलिसले थ्रीस्टारमाथि १ शुन्यको जित निकालेको थियो ।

प्रतियोगिताको म्यान अफ दी सिरिज हनामी बीएफसी चितवनका जर्सी नम्बर ११ का सुजित बुढाथोकी घोषित भए । उनले १ लाख पुरस्कार हात पारेका हुन् । विजेता र उपविजेता टोलीलाई पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्य, प्रदेश सांसद बिष्णु पन्थी, बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्याल, एन्फाका उपाध्यक्ष दीर्घ बहादुर केसी, आयोजक कपिलवस्तु फुटवल संघका अध्यक्ष तिलक थापा लगायतले पुरस्कार वितरण गरेका थिए । चैत्र १७ गतेदेखि खेल सुरु भएको गोल्डकपमा ए डिभिजनका ४ र मोफसलका ४ गरी ८ टिमले सहभागिता जनाएका थिए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation